काठमाडाैं- महिलामा सेतो पानी बग्ने समस्या हुन्छ । यसलाई सामान्यतया एउटै नामले सम्बोधन गरेपनि पानीको अवस्था अनुसार यो जटिल हुन सक्छ ।
स्त्री तथा निःसन्तानपन विशेषज्ञ डा. स्वस्ती शर्माका अनुसार सेतो पानी बग्नुका धेरै कारण धेरै हुन्छन् । सेतो पानी बग्ने समस्या देखाएर वा त्यो पानी जाँचेर त्यसको रिपोर्ट अनुसार औषधि सेवन गर्नुपर्ने हुन्छ । उनका अनुसार अलिअलि बग्ने तथा बेलाबेलामा पेन्टीमा पानी लागेको जस्तो देखिनुलाई सामान्य मानिन्छ । सेतो पानी बग्दा चिलाउँदैन वा दुख्दैन भने आत्तिनु पर्दैन ।
महिलाको गुप्ताङ्गबाट सामान्यतया सेतो पानी बगिरहेकै हुन्छ । त्यसलाई लुब्रिकेशन भनिन्छ । महिलाको गुप्ताङ्गमा ल्याक्टोब्याक्रियस भन्ने एउटा किटाणु हुन्छ । जसले लुब्रिकेशनलाई सुरक्षा दिने काम गर्छ ।
‘दही जस्तो छोक्रा आउनु अर्को किसिमकाे समस्या हाे । यस्तो अवस्थामा क्यान्डिडिएस भएको हो भन्ने बुझ्नुपर्ने हुन्छ । फङ्गसको इन्फेक्शन भएर यस्तो भएको हो’ उनी भन्छिन्, ‘यसलाई आवश्यक उपचार गर्नुपर्छ ।’
अर्को पहेँलो रङ्गको देखिने, अलिअलि पानीका फोका जस्तो देखिएमा त्यसलाई टाइको मोनस भन्ने इन्फेक्सन भएको हुनसक्ने उनले बताइन् । अर्को प्रकारको सेतो पानी सिल्भर कलरको आउने र माछा जस्तो गनाउने हुन्छ । ब्याक्टेरियल भजाइनोसिस वा भजाइनाइटिस भएर गुप्ताङ्गमा ल्याक्टोब्याक्रियसको कमी भएर यो समस्या हुनसक्छ ।
विशेषगरी संक्रमणको कारणले गर्दा सेतो पानी बग्ने समस्या हुन्छ । कहिले काहीँ खानपान नमिल्दा, धेरै तनाव हुँदा, गुप्ताङ्गलाई राम्रोसँग सफा नगर्दा, जथाभावी शरीरिक सम्पर्क गर्दा सेतोपानी बग्ने समस्या हुने उनको भनाइ छ ।
सेतोपानी बग्ने समस्याको वंशाणु गुणसँग कुनैपनि सम्बन्ध नरहेको डा स्वस्ती शर्मा बताउँछिन् । उनका अनुसार सबै उमेरका महिलालाई सेतो पानी बग्ने समस्या हुन्छ । जवान महिलाहरुलाई हार्मोनको समस्या भएर तथा शारीरिक सम्पर्कबाट संक्रमण सरेर सेतो पानी बग्छ ।
महिनावारी सुकेको महिलामा पनि हार्मोनको सन्तुलन नहुँदा सेतो पानी बग्ने समस्या हुन्छ । बालिकाहरु सफा नहुँदा पनि सेतो पानी बग्ने समस्या हुन्छ । महिनावारीको समय आउन लागेपछि सेतो पानी अलि बढी बग्ने हुन्छ । जुन गनाउँदैन र चिलाउँदैन । त्यो सामान्य मानिने हुँदा आत्तिनु नपर्ने उनको भनाइ छ ।
के गर्ने ?
सेतो पानी बग्ने समस्या छ तर चिलाउने वा दुख्ने केही भएको छैन भने घरेलु उपचारबाट त्यसलाई निराकण गर्न सकिने उनले बताइन् । त्यस्तो अवस्थामा सन्तुलित खाना खाने, प्रशस्त दही खाने, गुप्ताङ्ग सफा रख्ने, दिनहुँ पेन्टी फेर्ने, कटनको मात्र पेन्टी लगाउने, राति सुत्दा पेन्टी नलगाउने, धेरै टाइट कपडा नलगाउने, आवश्यक मात्रामा व्यायम गर्ने, लगायतका कार्य गर्न सकिन्छ ।
तर, चिलाउने, पोल्ने, तल्लोपेट दुख्ने जस्ता समस्या भयो भने चिकित्सकसँग परामर्श लिनुपर्ने उनको भनाइ रहेको छ ।
भिडियो हेर्नुहोस् ।