वीरगञ्ज, २७ कात्तिक। अध्यापकको उपलब्धता र शैक्षिक वातावरणबारे प्रश्न उठेपछि विवादमा परेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले विभिन्न १० विभागमा अध्यापकका लागि आवेदन खुलाएको छ। कलेजले लेक्चरर, एसोसिएट प्रोफेसर र प्रोफेसरका साथै प्रशासनतर्फ नाइट अफिसरसमेत माग गरेको हो।
कलेजले प्रकाशित गरेको सूचनाअनुसार ग्यास्ट्रोइन्टेरोलोजी, नेफ्रोलोजी, अर्थोपेडिक्स, पेडियाट्रिक नेफ्रोलोजी, डर्माटोलोजी, एनेस्थेसिया, प्याथोलोजी, फर्माकोलोजी, फिजियोलोजी र एनाटोमी विभागमा आवेदन मागिएको छ। सूचनामा विभाग र पद उल्लेख भए पनि नियुक्त गरिने कुल व्यक्तिसंख्या खुलाइएको छैन।
अर्थोपेडिक्समा लेक्चरर, एनेस्थेसियामा प्रोफेसर र प्याथोलोजीमा एसोसिएट प्रोफेसर मागिएको छ। अन्य विभागका लागि सम्बन्धित विषयमा सूचनाले तोकेको योग्यता भएका उम्मेदवारले आवेदन दिन सक्नेछन्। नाइट अफिसरका लागि भने कुनै पनि विषयमा स्नातक गरी अस्पताल प्रशासनमा कम्तीमा एक वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ।
कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकले शैक्षिक वातावरण, कार्यसमय, निर्वाह भत्ता र प्रशासनिक कारबाहीलगायत विषय उठाउँदै आन्दोलन गरेका थिए। उनीहरूले सात आवासीय चिकित्सकविरुद्ध दायर मानहानि मुद्दा फिर्ता लिनुपर्ने मागसमेत राखेका थिए। विवादका क्रममा प्रथम वर्षको स्नातकोत्तर तहका शैक्षिक गतिविधि प्रभावित भएका थिए।

फ्याकल्टीसम्बन्धी प्रश्न संसद्सम्म पुगेको थियो। सांसद रहबर अन्सारीले कलेजमा नियमित काम नगर्ने व्यक्तिलाई अध्यापकका रूपमा देखाएर स्नातकोत्तर तहको सिट लिएको र निरीक्षणका क्रममा सुरक्षा गार्डलाई बिरामी बनाएर प्रस्तुत गरेको आरोप लगाएका थिए।
कलेजले भने ती आरोप अस्वीकार गरेको छ। आफ्नो वक्तव्यमा कलेजले अधिकारप्राप्त नियामक वा सरकारी निकायबाट आरोप पुष्टि गर्ने आधिकारिक निष्कर्ष नआएको दाबी गर्दै तथ्यमा आधारित निष्पक्ष र पारदर्शी परीक्षणका लागि आवश्यक अभिलेख तथा विवरण उपलब्ध गराउन तयार रहेको जनाएको छ।
इच्छुक उम्मेदवारलाई कलेजले २१ दिनभित्र आवेदन दिनसकिने समयसीमा दिएको छ ।








