–शरदचन्द्र ओझा–
हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग आँखामा विभिन्न समयमा विभिन्न प्रकारका रोग लाग्ने गर्छन्। तिनको उपचारका लागि विभिन्न किसिमका आइड्रप्स आवश्यक पर्छन्। चिकित्सकको उचित सल्लाहअनुसार मात्रा मिलाएर मात्र ती आइड्रप्स प्रयोग गर्नु उपयुक्त हुन्छ। कम्प्युटर तथा ल्यापटपको बढ्दो प्रयोग, धुवाँ, धुलो र प्रदूषणलगायतका कारण आजभोलि आँखाका विभिन्न समस्या बढ्दै गएको पाइन्छ। आँखाको सुक्खापन, एलर्जी र सङ्क्रमणलगायतका समस्यामा प्रयोग हुने आइड्रप्स अर्थात् आँखामा हाल्ने झोलको प्रयोग पनि त्यसैअनुरूप बढ्दै गएको छ।
आँखाका रोगमा प्रयोग हुने आइड्रप्सको उत्पादनमा पानीको महत्त्वपूर्ण भूमिका हुन्छ। यसको उत्पादनमा हामीले पिउने साधारण पानीभन्दा फरक पानी प्रयोग गरिन्छ। वास्तवमा पानी आइड्रप्सको एउटा महत्त्वपूर्ण कच्चा पदार्थ हो। यस लेखमा आइड्रप्स उत्पादनमा प्रयोग हुने पानीको शुद्धता, उपयोगिता र अन्य विविध पक्षबारे चर्चा गरिएको छ।
आइड्रप्सको प्रयोग र संवेदनशीलता
आइड्रप्स आँखाको सतहमा हालिने तरल औषधि हो। शरीरको संवेदनशील अङ्गमा प्रयोग गरिने भएकाले यसको उत्पादनमा विशिष्ट प्रविधि अपनाइन्छ। आइड्रप्स बनाउन प्रयोग हुने पानीलाई विशेष शुद्धीकरण प्रक्रियाबाट औषधिमा प्रयोग गर्न योग्य बनाइन्छ।
आँखामा प्रयोग हुने आइड्रप्सको गुणस्तरमा कमी भएमा वा अशुद्धता मिसिएमा त्यसले गम्भीर समस्या निम्त्याउन सक्छ। त्यसैले आइड्रप्सको ९० प्रतिशतभन्दा बढी भाग ओगट्ने पानीको शुद्धताले पनि यसको गुणस्तर निर्धारण गर्छ।
औषधि उद्योगमा सामान्य धाराको पानी वा मिनरल वाटर प्रयोग गरिँदैन। आँखाका थोपा बनाउन विशेष रूपमा प्रशोधित र उच्च गुणस्तरको पानी प्रयोग गरिन्छ। यसमा मुख्यतः दुई किसिमका पानीको चर्चा हुन्छ।
शुद्ध पानी (Purified Water): सामान्यतया उत्पादनका प्रारम्भिक प्रक्रिया र उपकरण सफा गर्न प्रयोग गरिन्छ।
इन्जेक्सनका लागि पानी (Water for Injection—WFI): आँखाका थोपा, इन्जेक्सन र अन्य जीवाणुरहित अर्थात् स्टेरिल औषधिको उत्पादनका लागि WFI अनिवार्य मानिन्छ। यो पानी विशेष डिस्टिलेसन वा रिभर्स ओस्मोसिस (RO) प्रविधिमार्फत उत्पादन गरिन्छ। यस प्रक्रियामा खनिज, ब्याक्टेरिया, भाइरस, कार्बनिक यौगिक र पाइरोजेन हटाइन्छन्।
आँखाका थोपा उत्पादनमा पानीको महत्त्व
आँखामा प्रयोग हुने औषधि पूर्ण रूपमा स्टेरिल हुनुपर्छ। पानी जीवनको आधार हो र यसमा सूक्ष्मजीव छिटो वृद्धि हुन सक्छन्। उत्पादनमा प्रयोग हुने पानीमा ब्याक्टेरिया वा ढुसीका बीजाणु बाँकी रहेमा तिनले औषधिमा वृद्धि गर्न सक्छन्। WFI को प्रयोगले उत्पादनलाई सूक्ष्मजीवबाट मुक्त राख्न सहयोग पुर्याउँछ।
रासायनिक निष्क्रियता र घोलकका रूपमा पानी
आँखाका थोपामा विभिन्न सक्रिय औषधीय तत्त्व (Active Pharmaceutical Ingredients—APIs) हुन्छन्। तिनलाई घोल्न घोलक आवश्यक पर्छ। पानीलाई सार्वभौमिक घोलक पनि भनिन्छ। तर पानीमा रहेका क्याल्सियम, म्याग्नेसियम वा अन्य खनिजले औषधिसँग रासायनिक प्रतिक्रिया गरी यसको प्रभावकारिता घटाउन वा घोललाई लेदोजस्तो बनाउन सक्छन्। त्यसैले खनिजरहित शुद्ध पानीको प्रयोगले औषधिलाई स्थिर राख्न मद्दत गर्छ।
स्वस्थ आँखाको आँसुको आफ्नै प्राकृतिक पीएच र परासरणीय दबाब हुन्छ। उत्पादनमा प्रयोग हुने पानीमा अशुद्धता भएमा वा अम्लीयपन असन्तुलित भएमा आँखामा थोपा हाल्दा अत्यधिक पोल्ने, दुख्ने वा चिलाउने समस्या हुन सक्छ। शुद्ध र प्रशोधित पानीको आधारमा बनाइएका थोपाले आँखाको प्राकृतिक तरलसँग मेल खान मद्दत गर्छन्। त्यसैले आँखाका थोपामा प्रयोग हुने पानी र आँसु एकअर्कामा सजिलै मिसिन सक्ने तथा दुवैको पीएच करिब उस्तै हुनु आवश्यक हुन्छ।
पाइरोजेनमुक्त वातावरण
पाइरोजेन भनेको ब्याक्टेरियाबाट निस्कने विषालु तत्त्व हो, जसले शरीरमा ज्वरो र गम्भीर सुजन उत्पन्न गर्न सक्छ। आँखाका संवेदनशील तन्तुमा पाइरोजेनयुक्त पानीको प्रयोगले दृष्टिमा गम्भीर असर पार्ने खतरा हुन्छ। त्यसैले उत्पादनमा प्रयोग हुने पानी पूर्ण रूपमा पाइरोजेनरहित हुनुपर्छ।
उत्पादन प्रक्रियामा पानी प्रशोधनका चरण

आँखाका थोपा बनाउन सामान्य पानी सीधै प्रयोग गरिँदैन। त्यसलाई विभिन्न चरणको प्रशोधन प्रणालीबाट गुजारिन्छ।
प्रारम्भिक प्रशोधन (Pre-treatment): बालुवा, माटो र ठूला कण हटाउन मल्टिमिडिया तथा कार्बन फिल्टर प्रयोग गरिन्छ।
रिभर्स ओस्मोसिस (RO): पानीमा घुलेका लवण र अशुद्धताको ठूलो हिस्सा हटाइन्छ।
इलेक्ट्रोडायनालिसिस (EDI): पानीलाई थप आयनमुक्त बनाइन्छ।
डिस्टिलेसन (Multi-Effect Distillation): पानीलाई उमालेर बाफ बनाइन्छ र त्यसलाई पुनः चिस्याएर शुद्ध WFI प्राप्त गरिन्छ। यही पानी अन्तिम उत्पादनको मुख्य हिस्सा बन्छ।
प्रशोधित पानीलाई उच्च तापक्रममा राखेर पाइपलाइनमार्फत उत्पादन कक्षसम्म पुर्याइन्छ, ताकि पाइपमा ब्याक्टेरिया नबसून्। WFI भन्नाले औषधीय तथा चिकित्सा क्षेत्रमा प्रयोग हुने अत्यधिक शुद्ध र निःसङ्क्रमित पानी बुझिन्छ। यो सामान्य पिउने वा प्रशोधित पानीभन्दा कडा मापदण्डअनुसार तयार गरिन्छ।
आँखाको उपचारमा प्रयोग हुने थोपा उत्पादन गर्दा पानी साधारण रूपमा मिसाइने तरल पदार्थ मात्र होइन, औषधिको प्राण हो। शुद्ध, रोगाणुमुक्त र रासायनिक रूपमा स्थिर पानीबिना सुरक्षित तथा प्रभावकारी आइड्रप्स उत्पादन गर्न सकिँदैन। सुरुदेखि अन्त्यसम्मको कडा गुणस्तर नियन्त्रण, वैज्ञानिक प्रशोधन विधि र उच्च प्रविधिबाट तयार हुने यही शुद्ध पानीले बिरामीको दृष्टि सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।
नेपालमा आइड्रप्स उत्पादन
नेपालमा पनि उच्च प्रविधि अपनाएर आँखाका थोपा उत्पादन हुन थालेको धेरै वर्ष भइसकेको छ। अहिले करिब छ–सातवटा उद्योग देशभित्रको आवश्यकता पूरा गर्न र आवश्यक परे विदेशमा निर्यात गर्नसमेत सक्षम भएका छन्। ठूलो लगानी र विशिष्ट जनशक्ति आवश्यक पर्ने यस क्षेत्रमा नेपालको प्रगति उल्लेखनीय छ।
नेपालका फार्मेसीमा आँखाका विभिन्न समस्याका लागि प्रयोग हुने आइड्रप्स उपलब्ध छन्। आँखा सुक्खा हुने समस्यामा प्रयोग गरिने लुब्रिकेटिङ ड्रप्स वा कृत्रिम आँसुमा कार्बोक्सिमिथाइलसेलुलोज र हाइप्रोमेलोज पर्छन्। त्यस्तै, एन्टिबायोटिक ड्रप्समा मोक्सिफ्लोक्सासिन, टोब्रामाइसिन, सिप्रोफ्लोक्सासिन र ओफ्लोक्सासिनलगायत छन्।
एलर्जी तथा रातोपनका लागि ओलोपाटाडिन र नाफाजोलिनजस्ता औषधि प्रयोग हुन्छन्। मोतियाबिन्दुको शल्यक्रियापछिको हेरचाहमा चिकित्सकको कडा निगरानीमा प्रयोग गरिने औषधिमा प्रेड्निसोलोन र फ्लर्बिप्रोफेनलगायत पर्छन्। जलविन्दुमा प्रयोग हुने टिमोलोल र ब्रिमोनिडिनलगायतका आइड्रप्सको उत्पादन पनि नेपालमा सुरु भइसकेको छ।
आज नेपाली उत्पादन प्रायः सबै आँखा अस्पतालमा उपलब्ध छन्। चिकित्सकले पनि आवश्यकताअनुसार तिनको सिफारिस गरिरहेका छन्। नेपालमा ५० वर्षभन्दा बढीको इतिहास बोकेको औषधि उत्पादन क्षेत्रले विशिष्ट प्रकारका औषधि उत्पादन गर्न थालेको पनि दशक भइसकेको छ। विश्वका कतिपय मुलुकमा अझै औषधि उद्योग नभएको अवस्थामा नेपालको औषधि उद्योगले राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुर्याइरहेको छ।
चिकित्सा पर्यटनमा उल्लेखनीय योगदान गरिरहेको नेपालको आँखा उपचार क्षेत्रले विश्व तथा दक्षिणपूर्वी एसियामा विशिष्ट पहिचान बनाएको छ। भारत, बङ्गलादेशलगायतका मुलुकबाट आँखाका विभिन्न रोगको निदान तथा उपचारका लागि बिरामी नेपाल आउने गर्छन्। यो हाम्रो लागि गौरवको विषय हो।
आइड्रप्स प्रयोग गर्दा सावधानी
आइड्रप्स, विशेष गरी स्टेरोइड र एन्टिबायोटिकयुक्त थोपा, चिकित्सक वा आँखा रोग विशेषज्ञको सिफारिसबिना प्रयोग गर्नु हुँदैन। चिकित्सकको सल्लाहअनुसार उचित मात्रा र विधि अपनाएर मात्र प्रयोग गर्नुपर्छ।
ओझा साढे दुईदशक भन्दा लामो समयदेखि औषधि क्षेत्रको उत्पादन, बजारीकरण र प्रवर्द्धनमा क्रियाशिल छन् ।








