-डा. कुनाल विक्रम साह
आज विश्व मुटु दिवस मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ । यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ नेपालमा पनि विश्व मुटु दिवस मनाईंदैछ । यसको अर्थ हामीले विभिन्न व्यायाम गरेर मुटु चलायमान बनाएर मुटुलाई सुरक्षित राख्ने भन्ने हुन्छ ।
जन्मिँदै लाग्ने र जन्मिसकेपछि वा आफ्नो जीवन कालमा लाग्ने गरी मुटु रोग दुई प्रकारका हुन्छन् । जन्मिँदै लाग्ने रोगमा मुटुमा प्वाल हुने, धमनि उल्टो पाल्टो हुने हुन्छ जसको कारण कहिले काहि बच्चा निलो हुने हुन्छ । जीवन कालमा लाग्ने रोगमा हाम्रो खानपान वंशाणुतग लगायतका कारणले लाग्ने रोग जस्तै हृदयघात आदि ।
मुटुरोगमा विशेषगरी स्याँ–स्याँ हुने, छाती दुख्ने, चक्कर लाग्ने, रिंगटा लाग्ने, खुट्टा सुन्निने, बिरामीलाई मुटुको चाल गडबड भएको अनुभव हुने लगायतका लक्षणहरू देखिन्छन् ।
मुटुरोग लाग्न नदिन विशेषगरी दिनमा ३० मिनेट व्यायाम गर्नुपर्ने हुन्छ । छोटो दूरीको लागि सवारी साधनको प्रयोग नगरी हिँडेरै जाने गर्नाले पनि हाम्रो मुटु चलायमान हुन्छ । जसले गर्दा हाम्रो मुटुको धमनीमा रगतको फ्लो भइरहेको हुन्छ । यसले हाम्रो शरीरमा भएको उर्जा सजिलै खपत गर्न सक्छ । उर्जा मुटुको धमनीमा बोसोको रूपमा जम्दैन । जसले गर्दा धमनी ब्लक हुने सम्भावना कम हुन्छ । खानपानमा ध्यान दिनुपर्छ । खानामा चिल्लो पदार्थ कम गर्ने, धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोग नगर्ने, सुगर, प्रेसर, र वंशाणुगत कोलस्टोरलाई नियन्त्रणमा राख्ने, चिनी र नुनको प्रयोग कम गर्ने ।
मुटु रोग उमेर पुगेका व्यक्तिहरुमा मात्र लाग्छ भन्ने हुँदैन । अहिले वयष्कहरुमा पनि तनाव तथा लवाइखवाईको कारणले पनि मुटु रोग हुन सक्छ । त्यसैले आफ्नो खानपानमा ध्यान दिनुस्, धुम्रपान नगर्नुस्, व्यायाम गर्नुस् ।
हेरौं भिडियो
(डा साह मुटुरोग विशेषज्ञ हुन्)