काठमाडौं । अफगानिस्तानमा तालिबानले महिलामाथि लगाएका प्रतिबन्ध थप कडा बनाउँदै पुरुष चिकित्सक र दन्त चिकित्सकलाई महिला बिरामीको उपचार गर्न अनौपचारिक रूपमा रोक लगाएको छ। आकस्मिक अवस्थामा समेत महिलासँग पुरुष अभिभावक (महरम) अनिवार्य हुनुपर्ने व्यवस्था लागू गरिएपछि उनीहरूको आधारभूत स्वास्थ्य सेवामा पहुँचसमेत प्रभावित भएको छ।
द गार्जियन र जान टाइम्सको संयुक्त प्रतिवेदनअनुसार, तालिबानले औपचारिक घोषणा नगरे पनि अस्पताल र निजी क्लिनिकहरूमा पुरुष चिकित्सकले महिलाको उपचार गर्न नपाउने नियम कार्यान्वयन भइरहेको छ। यसका कारण धेरै महिला उपचारबाट वञ्चित भएका छन्।
यसको प्रत्यक्ष असर हेरात सहरकी ३७ वर्षीया फरीदा (परिवर्तित नाम)मा परेको छ। यसै वर्ष इरानबाट फर्किएकी उनी आर्थिक समस्यासँग जुधिरहेकी छन्। दाँतमा असह्य पीडा भएपछि जुलाईको सुरुवातमा उनी एक दन्त क्लिनिक पुगेकी थिइन्। चिकित्सकले नक्कली दाँत प्रत्यारोपण गर्न सुझाव दिएपछि उनले उपचारको सम्पूर्ण रकम अग्रिम भुक्तानी गरिन्।
तर उपचारको तेस्रो चरणमा प्रत्यारोपण गर्ने समयमा उनलाई उपचार गर्न नसकिने भन्दै क्लिनिकबाट फर्काइयो। त्यसको दुई दिनपछि क्लिनिकले पुरुष दन्त चिकित्सकले महिलाको उपचार गर्न नपाउने जानकारी दियो। त्यसयता तीन महिना बितिसक्दा पनि उनको उपचार पूरा हुन सकेको छैन।
महिलामाथि लगाइएका प्रतिबन्ध स्वास्थ्य सेवामा मात्र सीमित छैनन्। उत्तरी बल्ख प्रान्तका अधिकारीहरूले गत मे महिनामा सरकारी तथा निजी अस्पताललाई महिला बिरामीलाई उनीहरूको वास्तविक नामबाट नबोलाउन निर्देशन दिएका थिए। चिकित्सकले दिने औषधिको पुर्जामा समेत महिलाको नामको सट्टा ‘श्रीमती’ लेख्न भनिएको छ। कुनार प्रान्तकी रहीमा (परिवर्तित नाम)ले पनि आफ्नी वृद्ध आफन्तको उपचार गराउन निकै कठिनाइ भएको बताएकी छन्।
तालिबानका सुरक्षा बलले स्वास्थ्य क्लिनिकहरूमा छापा मार्न थालेपछि चिकित्सकहरू थप त्रासमा छन्। क्लिनिकमा महिला बिरामी भेटिए पुरुष चिकित्सकलाई जेल हाल्ने चेतावनी दिइएको छ। एक शल्यचिकित्सकका अनुसार, पुरुष अभिभावक अर्थात् महरमबिना महिला बिरामीको उपचार नगर्न चिकित्सकहरूलाई निर्देशन दिइएको छ।

गत फेब्रुअरीमा तालिबानका सञ्चारमन्त्री हमदुल्लाह नोमानीले उपचार गर्ने क्रममा पुरुष चिकित्सकलाई नै महिलाको महरम मानिने दाबी गरेका थिए। तर व्यवहारमा भने त्यसको विपरीत नियम लागू भइरहेको छ।
पूर्वी सहर जलालाबादस्थित एक दन्त क्लिनिकमा सहायकका रूपमा कार्यरत नरगिस (परिवर्तित नाम)का अनुसार, केही चिकित्सकले महिला बिरामीको उपचार गर्दा क्लिनिकबाहिर एक व्यक्तिलाई निगरानीका लागि राख्ने गरेका छन्। उनका चिकित्सकले तालिबान अधिकारी छापा मार्न आए बुर्का लगाएर उम्किन सकियोस् भन्दै कार्यालयमा अफगानी बुर्का (चादरी) राख्नुपर्ने ठट्टासमेत गर्ने गरेको उनले बताएकी छन्।
अफगान महिलाको स्वास्थ्य सेवामा पहुँच कमजोर हुनुको अर्को प्रमुख कारण महिला स्वास्थ्यकर्मीको अभाव पनि हो। सन् २०२४ डिसेम्बरदेखि महिलालाई चिकित्सा शिक्षासम्बन्धी संस्थामा अध्ययन गर्न र अस्पतालमा महिला कर्मचारीका रूपमा भर्ना हुन रोक लगाइएपछि महिला चिकित्सकको संख्या घट्दै गएको छ।
हाल कार्यरत सीमित महिला चिकित्सकले समेत पुरुष अभिभावक साथमा राख्नुपर्ने बाध्यता छ। एक महिला बिरामीले आफ्ना बुबासँगै क्लिनिक पुग्दा पनि पुरुष चिकित्सकले महिला बिरामीलाई छुन नपाउने नियमका कारण घण्टौँ कुर्नुपरेको अनुभव सुनाएकी छन्।
तालिबानका प्रतिबन्धका कारण अफगान महिलासँग उपचारका विकल्प सीमित हुँदै गएका छन्। उनीहरूले आफ्नो र चिकित्सकको जोखिम मोलेर लुकीछिपी उपचार गराउनुपर्ने, पर्याप्त तालिम नलिएका महिला स्वास्थ्यकर्मीबाट सेवा लिनुपर्ने वा रोग पालेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ।
महिला चिकित्सक उत्पादन र नियुक्तिमा रोक लगाउनुका साथै पुरुष चिकित्सकबाट उपचार लिनसमेत अवरोध सिर्जना हुँदा अफगानिस्तानमा महिलाको आधारभूत स्वास्थ्य अधिकार गम्भीर संकटमा परेको छ।








