

फोक्सोको क्यान्सर विश्वमै सबैभन्दा बढी देखिने क्यान्सरमध्ये एक हो। यसबाट हुने मृत्युको संख्या पनि उच्च छ। तर क्यान्सरलाई सुरुकै अवस्थामा पत्ता लगाउन सके उपचार प्रभावकारी हुनुका साथै मृत्युको जोखिमसमेत कम गर्न सकिन्छ।
नेपाल मेडिसिटी अस्पतालका कन्सल्टेन्ट तथा अन्कोलोजी विभाग प्रमुख डा. अम्बुज कर्णका अनुसार, क्यान्सरलाई लक्षण देखिनुअघि नै पत्ता लगाउने प्रक्रियालाई स्क्रिनिङ भनिन्छ। फोक्सोको क्यान्सरको स्क्रिनिङ सबै व्यक्तिले गर्नुपर्ने भने होइन। उच्च जोखिममा रहेका व्यक्तिका लागि मात्र स्क्रिनिङ महत्वपूर्ण हुन्छ।
डा. कर्णका अनुसार लामो समयदेखि अत्यधिक धूम्रपान गरिरहेका व्यक्तिहरू फोक्सोको क्यान्सरको उच्च जोखिममा पर्छन्। उदाहरणका रूपमा दैनिक करिब २० वटा चुरोट २० वर्षसम्म सेवन गरेका व्यक्तिलाई उच्च जोखिम समूहमा राख्न सकिन्छ।
स्क्रिनिङका क्रममा फोक्सोमा सानो दाग वा अन्य असामान्य संरचना देखिन सक्छ। तर फोक्सोमा देखिएको प्रत्येक दाग क्यान्सर नै हुन्छ भन्ने हुँदैन। संक्रमणलगायत अन्य कारणले पनि यस्तो दाग देखिन सक्छ। आवश्यक परे थप परीक्षण तथा बायोप्सी गरिन्छ।
लक्षण नदेखिए पनि लो–डोज सीटी स्क्यानबाट फोक्सोको क्यान्सर स्क्रिनिङ गर्न सकिन्छ
व्यक्तिमा कुनै लक्षण नदेखिए पनि लो–डोज सीटी स्क्यान मार्फत फोक्सोको क्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ। सीटी स्क्यान सामान्य आए पनि उच्च जोखिममा रहेका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा पुनः स्क्रिनिङ गर्नुपर्ने हुन सक्छ।
डा. अम्बुज कर्णका अनुसार, स्क्रिनिङको मुख्य उद्देश्य फोक्सोमा क्यान्सर छ कि छैन भनेर लक्षण आउनुअघि नै पत्ता लगाउनु हो। सीटी स्क्यानबाट अन्य फोक्सो वा मुटुसम्बन्धी समस्या पनि संयोगवश देखिन सक्छन्, तर ती स्क्रिनिङका मुख्य उद्देश्य भने होइनन्।
यद्यपि, केही लक्षण देखिएमा स्क्रिनिङभन्दा पनि तत्काल चिकित्सकीय जाँच आवश्यक हुन्छ। दुई–तीन हप्ताभन्दा लामो समयसम्म खोकी रहनु, पहिलेको भन्दा खोकीको स्वरूप परिवर्तन हुनु, खकारमा रगत आउनु, तौल घट्दै जानु, खान मन नलाग्नु तथा सास फेर्न गाह्रो हुनु फोक्सोको क्यान्सरसँग सम्बन्धित हुन सक्ने लक्षण हुन्।
फोक्सोको क्यान्सर पुरुष र महिला दुवैमा हुन सक्छ। यसको प्रमुख जोखिम कारकमध्ये धूम्रपान एक हो। महिलामा भने घरभित्रको धुवाँ, विशेषगरी चुलोको धुवाँका कारण हुने हाउसहोल्ड स्मोक एक्सपोजर पनि जोखिमको कारण बन्न सक्छ। त्यस्तै, धूम्रपान नगर्ने व्यक्तिमा पनि केही आनुवंशिक परिवर्तनका कारण फोक्सोको क्यान्सर हुन सक्ने डा. कर्ण बताउँछन्।
लक्षण नदेखिए पनि वर्षमा एकपटक फोक्सोको क्यान्सर स्क्रिनिङ गराउँदा राम्रो हुन्छ
फोक्सोको क्यान्सर सुरुकै चरणमा पत्ता लागेमा उपचारको सम्भावना तुलनात्मक रूपमा राम्रो हुन्छ। त्यसैले उच्च जोखिममा रहेका व्यक्तिले लक्षण कुरेर बस्नुभन्दा चिकित्सकसँग परामर्श गरेर आवश्यक स्क्रिनिङ गराउनु महत्वपूर्ण हुन्छ।नेपालमा पनि फोक्सोको क्यान्सर स्क्रिनिङका लागि आवश्यक प्रविधि र सुविधा उपलब्ध रहेको डा. कर्णको भनाइ छ। उच्च जोखिममा रहेका व्यक्तिले क्यान्सर विशेषज्ञसँग परामर्श गरी आवश्यकताअनुसार वर्षमा एकपटक लो–डोज सीटी स्क्यान गर्न सक्नेछन्।
सबैभन्दा महत्वपूर्ण कुरा भनेको धूम्रपान नगर्नु नै फोक्सोको क्यान्सरबाट बच्ने प्रमुख उपाय हो। धूम्रपान गरिरहेका व्यक्तिले सकेसम्म चाँडो धूम्रपान त्याग्नुका साथै आफू उच्च जोखिम समूहमा पर्छु कि पर्दिनँ भन्ने विषयमा चिकित्सकसँग परामर्श गर्न आवश्यक छ।



