दाङ, १९ कार्तिक । आईसीयूको शय्या थप्नेदेखि अनलाइन टिकट र प्रयोगशाला रिपोर्टको सुविधासम्मका काम समेट्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सय दिने कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। उपकुलपति प्रा.डा. अजयकुमार मिश्रले कार्यभार सम्हालेपछिका उपलब्धि, सुधारका पहल र अघि बढाइएका योजनाहरू विवरणमा समेटेर प्रतिष्ठानले प्रगति प्रस्तुत गरेको हो ।
प्रतिष्ठानका अनुसार यस अवधिमा सघन उपचार कक्ष (आईसीयू) नयाँ स्थानमा सारेर शय्या संख्या १० बाट १२ पुर्याइएको छ। यसलाई १५ शय्यामा विस्तार गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ। शल्यक्रिया टेबलको संख्या पाँचबाट छ पुर्याउने काम पनि सुरु गरिएको विवरणमा उल्लेख छ।
सेवाग्राहीलाई सहज बनाउन मोबाइल एपमार्फत अनलाइन ओपीडी टिकट काट्ने र वेबसाइटबाट प्रयोगशाला रिपोर्ट हेर्ने सुविधा सुरु गरिएको छ। अस्पतालसम्म पहुँच नपुगेका बिरामीलाई लक्षित गर्दै टेलिमेडिसिन कक्ष निर्माण गरी सेवा सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ।
ओपीडी टिकट काट्ने समय मध्याह्न १२ बजेदेखि बढाएर दिउँसो २ बजेसम्म पुर्याइएको छ। स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोष र ज्येष्ठ नागरिकका लागि छुट्टाछुट्टै टिकट काउन्टरको व्यवस्था गरिएको छ। अस्पतालमा भर्ना भएका बिरामी र शय्याको अवस्था बुझ्न दैनिक तीनपटक विवरण लिने व्यवस्था मिलाइएको पनि प्रतिष्ठानले जनाएको छ।

कुल स्वीकृत ३ सय शय्याको १० प्रतिशत अर्थात् ३० शय्या विपन्न तथा लक्षित वर्गको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याइएको सार्वजनिक विवरणमा उल्लेख छ।
पूर्वाधारतर्फ ४ सय शय्याको अस्पताल भवन निर्माणका लागि लागत अद्यावधिक गरी खरिदको तयारी अघि बढाइएको छ। घोराही–१८ नवलपुरमा नेपाल सरकारको स्वामित्वमा रहेको साढे पाँच बिघा जग्गा प्राप्तिको प्रक्रिया स्वास्थ्य मन्त्रालयमार्फत अघि बढेको प्रतिष्ठानले जनाएको छ। वर्षायाममा अस्पताल परिसरमा हुने डुबान रोक्न ढल तथा नाला निर्माण गरिएको पनि विवरणमा उल्लेख छ।
प्रतिष्ठानले मुटुरोगको परीक्षण तथा उपचारसम्बन्धी क्याथल्याब सेवा सञ्चालनमा ल्याइएको र जलनका बिरामीका लागि दुई शय्याबाट उपचार सुरु गरिएको जनाएको छ। सीटी स्क्यान मेसिन मर्मत गरी सेवालाई निरन्तरता दिइएको पनि विवरणमा समेटिएको छ।

प्रशासनिक सुधारअन्तर्गत गुनासो व्यवस्थापन समिति गठन, गुनासो सुन्ने अधिकारीको व्यवस्था, नियमित सरसफाइ जाँच र भण्डार व्यवस्थापनमा सुधार गरिएको प्रतिष्ठानले जनाएको छ। जनशक्ति व्यवस्थापन तथा नियमित समीक्षा बैठकलाई पनि निरन्तरता दिइएको छ।
शैक्षिक गतिविधितर्फ प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयका पुस्तकालयबीच स्रोत आदानप्रदानको प्रक्रिया सुरु गरिएको छ। स्नातकोत्तर तथा एमबीबीएस तहका विद्यार्थीको समुदायमा आधारित अध्ययन कार्यक्रम सम्पन्न गरिएको र विद्यार्थीका लागि खेलकुद गतिविधि अघि बढाइएको प्रतिष्ठानले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
यसैबीच, प्रतिष्ठानले भर्खरै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग आर्थिक वर्ष २०८३, ८४ का लागि कार्यसम्पादन सम्झौता गरेको छ। मन्त्री निशा मेहता र उपकुलपति मिश्रबीच उक्त सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा अस्पतालको सरसफाइ तथा स्वच्छता, बिरामीलाई समयमै शय्या उपलब्ध गराउने, उपचारको प्रतीक्षा समय घटाउने र स्वास्थ्य सेवाको गुणस्तर बढाउने विषयलाई प्राथमिकता दिइएको छ। स्वास्थ्यकर्मीको सेवामैत्री व्यवहारसँगै संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता पनि सम्झौतामा समेटिएका छन्।
प्रतिष्ठानले सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी सहज, सुलभ र सम्मानजनक स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।







