बुटवल । कर्मचारीले चाडपर्व खर्च नपाएको भन्दै उजुरी गरेपछि श्रम तथा रोजगार कार्यालय बुटवलले सिद्धबाबा हस्पिटलमा छड्के अनुगमन गरेको छ।

अनुगमनपछि कार्यालयले अस्पताल व्यवस्थापनलाई कर्मचारीको चाडपर्व खर्च भुक्तानी गरी त्यसको बैंक भौचर पेस गर्न निर्देशन दिएको छ।

अस्पतालमा कार्यरत कर्मचारीले चाडपर्व खर्च उपलब्ध नगराइएको गुनासो गरेपछि कार्यालयको टोली अनुगमनमा पुगेको हो। टोलीले तोकिएको समयमा खर्च उपलब्ध नगराउनुको कारणबारे व्यवस्थापनसँग स्पष्टीकरणसमेत मागेको छ।
अनुगमनपछि अस्पताल व्यवस्थापनले कर्मचारीलाई नियमानुसार चाडपर्व खर्च उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
चाडपर्व खर्च कर्मचारीको नियमित तलबभन्दा छुट्टै सुविधा भएकाले त्यसको भुक्तानी र प्रमाण पेस गर्ने विषयमा कार्यालयले अस्पताल व्यवस्थापनको ध्यानाकर्षण गराएको हो।
Last Modified Date: २०८३ कार्तिक २२, शनिबार







