काठमाडौं, १९ कार्तिक । नेपाल चिकित्सक संघले आमरण अनशनरत प्रा. डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ताको वातावरण बनाउन सरकारसँग माग गरेको छ।
संघले आज जारी विज्ञप्तिमा संघले डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले उठाएका जायज माग तत्काल सम्बोधन गर्न आग्रह गरेको हो।

कात्तिक १२ गतेदेखि २५औँ आमरण अनशनमा रहेका डा. केसीका माग आठ दिन बितिसक्दा पनि सरकारले सम्बोधन गरेको छैन। यसप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यसैबीच, आगामी कदमबारे छलफल गर्न संघले कात्तिक २० गते शुक्रबार दिउँसो केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्नेपनि विज्ञप्तिमार्फत जनाएको छ। छलफलमा संघका पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक समाज, अस्पताल निर्देशक, आवासीय चिकित्सकलगायत सम्पूर्ण चिकित्सकलाई उपस्थित हुन आग्रह गरिएको छ।








