

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक तथा प्राविधिक गतिविधि विस्तारका लागि चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल (धनगढी), लम्कीचुहा प्रादेशिक अस्पताल (लम्की), टिकापुर प्रादेशिक अस्पताल (टिकापुर) र महाकाली प्रादेशिक अस्पताल (महेन्द्रनगर) लाई विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा उपयोग गर्न स्वीकृति प्रदान गरेको हो।
सरकारको निर्णयसँगै ती अस्पतालमा चिकित्सा शिक्षा, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यावहारिक प्रशिक्षण र विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक सम्झौता, कानुनी व्यवस्था तथा प्रशासनिक प्रक्रिया सामाजिक विकास मन्त्रालयले अगाडि बढाउनेछ।



