

धनगढी – सुदूरपश्चिम प्रदेशमा शिशु तथा बाल पोषणको अवस्था अझै सन्तोषजनक बन्न नसकेको एक सर्वेक्षणले देखाएको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले सार्वजनिक गरेको ‘स्मार्ट प्लस’ सर्भेअनुसार छ महिनाभन्दा कम उमेरका ६८.३ प्रतिशत शिशुले मात्रै पूर्ण स्तनपान गरिरहेका छन्।
सर्वेक्षणका अनुसार करिब ३२ प्रतिशत शिशुले छ महिना नपुग्दै आमाको दूधबाहेक पानी, अन्य दूध वा थप खानेकुरा सेवन गर्ने गरेका छन्, जसले पूर्ण स्तनपानको अभ्यास अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ।
यद्यपि प्रारम्भिक स्तनपानको अवस्था भने उत्साहजनक देखिएको छ। प्रदेशका ९८.२ प्रतिशत बालबालिकाले जीवनको कुनै न कुनै समयमा आमाको दूध पाएका छन् भने ८४.९ प्रतिशत शिशुले जन्मेको पहिलो एक घण्टाभित्रै स्तनपान सुरु गरेका छन्। जन्मपछिका पहिलो दुई दिन ७९.२ प्रतिशत शिशुले आमाको दूधबाहेक अन्य कुनै आहार नपाएको सर्वेक्षणमा उल्लेख छ। साथै १२ देखि २३ महिनासम्मका ९२.५ प्रतिशत बालबालिकाले स्तनपानलाई निरन्तरता दिएका छन्।
पूरक आहारतर्फ भने अवस्था कमजोर देखिएको छ। ६ देखि ८ महिनाका ८९.७ प्रतिशत शिशुले समयमै थप आहार सुरु गरे पनि न्यूनतम आहार विविधता ६२.९ प्रतिशत र न्यूनतम भोजन संख्या ५६.६ प्रतिशतमा सीमित रहेको छ। न्यूनतम स्वीकार्य आहार प्राप्त गर्ने बालबालिकाको अनुपात भने ३७.६ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ।
सर्वेक्षणअनुसार ३२.८ प्रतिशत बालबालिकाले मात्र अण्डा वा मासुजन्य परिकार सेवन गर्ने गरेका छन्। त्यस्तै ३१.४ प्रतिशत बालबालिकाले फलफूल वा हरियो सागसब्जी सेवन नगरेको पाइएको छ। अर्कोतर्फ ४३.४ प्रतिशतले गुलिया पेय पदार्थ र ३९.३ प्रतिशतले जंक फुड खाने गरेको तथ्यांकले देखाएको छ।
दूधदानी (फिडिङ बोतल) को प्रयोग पनि उल्लेख्य रहेको सर्वेक्षणले देखाएको छ। १६.७ प्रतिशत बालबालिकामा दूधदानी प्रयोग भएको पाइएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार यसको अनुचित प्रयोगले संक्रमणको जोखिम बढाउनुका साथै प्रभावकारी स्तनपानमा समेत असर पुर्याउन सक्छ।
साथै, स्तनपानसँग सम्बन्धित सामाजिक भ्रमहरू पनि चुनौतीका रूपमा रहेको प्रतिवेदनले औँल्याएको छ। कोलोस्ट्रम (पहेंलो दूध) फाल्नुपर्ने, बच्चा रोएपछि आमाको दूध नपुगेको ठान्ने वा छ महिनाअघि नै पानी दिनुपर्ने जस्ता धारणा वैज्ञानिक आधारविहीन रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
विश्व स्तनपान सप्ताहको अवसरमा सार्वजनिक गरिएको सर्वेक्षणले सुदूरपश्चिममा प्रारम्भिक स्तनपानको उपलब्धि कायम राख्दै पूर्ण स्तनपान, पोषणयुक्त पूरक आहार र स्तनपानमैत्री वातावरण विस्तार गर्न अझै प्रभावकारी पहल आवश्यक रहेको औँल्याएको छ।



