काठमाडौं । देशका विभिन्न अस्पतालमा जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत तालिम दिइएको छ । जलनका बिरामीलाई गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ३० कार्यदिनको तालिम सम्पन्न भएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा तालिम सञ्चालन गरेको थियो । तालिममा नारायणी अस्पताल, वीरगञ्ज र प्रदेश अस्पताल, सुर्खेतबाट चार/चार जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए ।

तालिम पूरा गरेका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको हो । तालिमबाट जलन उपचारसम्बन्धी दक्ष जनशक्ति तयार हुने र उनीहरू कार्यरत अस्पतालमा जलन उपचार कक्ष स्थापना तथा सेवा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








