
काठमाडौं – नेपाल फार्मेसी संघले औषधि व्यवसायीहरूको हालको आन्दोलनमा कुनै पनि संलग्नता नरहेको जनाएको छ। संघले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनमा सहभागी व्यक्तिहरूको विरोध कार्यक्रममा उनीहरूको कुनै पनि सहभागिता नभएको स्पष्ट पारिएको छ।
औषधि व्यवसायीहरूले आइतबार धर्ना र एक घण्टा फार्मेसी पसल बन्द गर्ने निर्णय गरे पनि फार्मेसी संघले आफ्ना सबै सदस्यलाई नियमित रूपमा फार्मेसी सेवा जारी राख्न आग्रह गरेको छ। संघले औषधि सेवा नागरिकको जीवनसँग जोडिएको अतिसंवेदनशील क्षेत्र भएको भन्दै सेवा अवरुद्ध नगर्न सदस्यहरूलाई निर्देशित गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल फार्मेसी संघले सम्पूर्ण सदस्यलाई नियमित सेवा प्रवाह गर्न आग्रह गर्दछ। साथै संघ कुनै पनि प्रकारको आन्दोलन, बन्द वा हड्तालमा संलग्न छैन।”
संघले औषधि ऐन २०३५ को दफा ११ मा गरिएको संशोधनको व्यवस्थालाई समेत समर्थन गरेको जनाएको छ। आफ्नो फर्म वा व्यवसाय समयमै नवीकरण गरी चर्को जरिवाना, अनावश्यक झन्झट र दर्ता खारेज जस्ता जोखिमबाट बच्न सबै सदस्यलाई चेतावनी दिइएको छ। पर्याप्त समय उपलब्ध हुँदा पनि नवीकरण नगरी सञ्चालन गर्ने व्यवसायलाई कानुन अनुसार दर्ता खारेज गर्ने अधिकार सरकारसँग रहेको विज्ञप्तिमा उल्लेख छ।
साथै, संघले औषधि तथा स्वास्थ्य सेवा पेशामा प्रवेश गर्न केवल कानुनले तोकेको शैक्षिक योग्यता अनिवार्य भएको र यसबिना व्यवसाय गर्नु गैरकानुनी रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।



