काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक प्रविधि तथा नयाँ आर्किटेक्चरमा आधारित प्रणाली सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ।
अद्यावधिक प्रणालीले सेवा प्रदायक संस्थाबाट प्राप्त स्वास्थ्य उपचारसम्बन्धी दाबीको छिटो र प्रभावकारी रुजु तथा मूल्यांकनमा सहयोग पुर्याउनेछ। साथै, प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्धता गरिने र यसबाट तथ्यांकको वैधता तथा गुणस्तर अभिवृद्धि हुने बोर्डको विश्वास छ।

नयाँ प्रणालीमा दाबीका क्रममा देखिने त्रुटि तथा असामान्य विवरण पहिचान गर्न प्रणालीगत फ्ल्यागिङको व्यवस्था गरिएको छ। यसका साथै बीमितको अभिलेख खोजी तथा पहिचान र सेवा प्रदायक संस्थाको अवस्थासम्बन्धी विवरण अनुगमन गर्न सकिने सुविधा पनि थपिएको छ।
बोर्डका अनुसार नयाँ प्रणालीले सूचना सुरक्षासँगै प्रणालीको गति, कार्यसम्पादन र विश्वसनीयता बढाउनेछ। यसले आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित प्रविधिको प्रयोग तथा विकासका लागि समेत आधार तयार गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल रूपान्तरण, सेवा प्रवाहमा सुधार र नागरिकमैत्री प्रणाली विकासमा स्तरोन्नति गरिएको आईएमआईएसले थप योगदान पुर्याउने बोर्डले जनाएको छ।








