काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न प्रा. डा. गोविन्द केसीले माग गरेका छन् । सरकारले सहमति कार्यान्वयनमा ढिलाइ गरे पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने उनले चेतावनी दिएका छन् ।
२५औँ सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षा मन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग भएको सहमति दुई साताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म पूरा नभएको भन्दै केसीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आइतबार विज्ञप्ति जारी गर्दै उनले तिहार र छठको सार्वजनिक बिदालाई ध्यानमा राखेर सहमति कार्यान्वयनका लागि सरकारलाई केही दिन थप समय दिएको बताएका छन् । तर, अब पनि सहमति कार्यान्वयनमा ढिलाइ भए वा सहमतिविपरीतका गतिविधि भए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने उनको चेतावनी छ ।
आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने केसीले बताएका छन् । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, सबै नागरिकको समान पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राख्दै आफूले पटक–पटक आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

केसीका अनुसार चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका मागसहित गरिएको २४औँ सत्याग्रहसहितको आन्दोलन २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमति भएपछि स्थगित गरिएको थियो । तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने निर्णयहरू गरेको उनको आरोप छ ।
सरकारका त्यस्ता निर्णयको विरोध गर्दै सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको मागसहित केसीले २५औँ सत्याग्रहसहित नौदिने आन्दोलन गरेका थिए । उक्त आन्दोलन पनि कात्तिक २१ गते शिक्षा मन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित भएको थियो ।
‘सहमति कार्यान्वयन गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व हो,’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘जनताको स्वास्थ्य र शिक्षासँग सम्बन्धित सवालमा सरकारलाई आफ्नो प्रतिबद्धताबाट पछि हट्ने छुट छैन ।’
उनले विगतमा भएका सहमति कार्यान्वयन गरी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।








