काठमाडौं । चिकित्साशास्त्रमा भइरहेको निरन्तर प्रगतिसँगै प्यान्क्रियाज (अग्न्याशय) को क्यान्सर उपचारमा नयाँ आशा देखिएको छ । उपचार गर्न कठिन मानिने यस क्यान्सरका बिरामीमा प्रयोग गरिएको नयाँ चक्की औषधिले ट्युमरको वृद्धि रोक्नुका साथै केही बिरामीमा ट्युमर नै हराएको प्रारम्भिक परीक्षणले देखाएको छ ।
केमोथेरापीसँगै डाराक्सोन्रासिब औषधि दिइएका १२ जनामध्ये एक जनाको क्यान्सर स्क्यानमा देखिन छाडेको पाइएको छ । शरीरका अन्य भागमा समेत फैलिइसकेको प्यान्क्रियाजको क्यान्सर भएका ६१ जना बिरामीमा गरिएको अर्को परीक्षणमा झन्डै सबैको ट्युमरको वृद्धि रोकिएको थियो ।
तर, यो औषधिले कति समयसम्म क्यान्सर नियन्त्रणमा राख्न सक्छ भन्ने स्पष्ट भइसकेको छैन । चिकित्सकहरूले यसलाई क्यान्सर पूर्ण रूपमा निको पार्ने उपचारका रूपमा लिन नहुने बताएका छन् ।
क्यान्सर अनुसन्धानसम्बन्धी संस्था क्यान्सर रिसर्च युकेले यसलाई प्यान्क्रियाजको क्यान्सर उपचारमा दशकौँयताकै महत्वपूर्ण उपलब्धि भनेको छ । संस्थाका डा. साम गोडफ्रेले परीक्षणका नतिजा अत्यन्तै उत्साहजनक रहेको बताएका छन् । उनका अनुसार प्यान्क्रियाजको क्यान्सर उपचारमा देखिएको प्रगतिले यस रोगबाट प्रभावित बिरामी र चिकित्सकमा नयाँ आशा जगाएको छ ।

बेलायतसहित विश्वका धेरै देशमा प्यान्क्रियाजको क्यान्सर उपचार गर्न कठिन क्यान्सरमध्ये एक मानिन्छ । केमोथेरापीबाट केही समय ट्युमर नियन्त्रणमा राख्न सकिए पनि फेरि बढ्ने जोखिम रहन्छ । नयाँ औषधिसम्बन्धी प्रारम्भिक परीक्षणमा भने करिब ९० प्रतिशत बिरामीमा ट्युमरको वृद्धि रोकिएको पाइएको छ । त्यस्तै, ६० प्रतिशत बिरामीमा ट्युमर देखिएको थिएन भने आठ प्रतिशतमा सिटी स्क्यानबाट समेत ट्युमर पत्ता लागेको थिएन ।
यस अध्ययनमा संलग्न डा. वाङ की पार्कले अहिलेसम्मका नतिजा उपलब्धिमूलक रहेको बताएका छन् । उनका अनुसार यो चक्कीले क्यान्सर भएका बिरामीको आयु लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास गरिएको छ । औषधि प्रयोगपछि क्यान्सर नफर्किएको अवधि औसतमा १८ महिनाको हाराहारीमा पुगेको बताइएको छ । यद्यपि, कति समयसम्म क्यान्सर नफर्किने हो भन्ने यकिन गर्न थप लामो समयसम्म परीक्षण गर्नुपर्ने हुन्छ ।
यो औषधि अमेरिकामा प्रयोग गर्न थालिसकिएको छ । प्यान्क्रियाजको क्यान्सरमा देखिने जस्तै म्युटेसन भएका फोक्सो र पाठेघरको क्यान्सरमा समेत यो औषधि प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको छ । युरोपियन क्यान्सर कन्फरेन्सकी प्रमुख प्रोफेसर एलेना गार्डेलाले पनि परीक्षणको नतिजालाई उत्साहजनक बताएकी छन् । उनका अनुसार अन्य उपचारसँगै यो औषधि प्रयोग गर्दा बिरामीको सर्भाइभल रेट बढ्न सक्छ ।
अमेरिकाको तथ्याङ्कअनुसार त्यहाँ कुल क्यान्सर बिरामीमध्ये तीन प्रतिशत प्यान्क्रियाजको क्यान्सरबाट प्रभावित छन् । तर, क्यान्सरका कारण मृत्यु हुनेमध्ये आठ प्रतिशतको मृत्यु यही क्यान्सरबाट हुने गरेको छ । अमेरिकामा वार्षिक करिब ५३ हजार जनाले यसैका कारण ज्यान गुमाउने गरेका छन् ।
बेलायतमा भने प्रत्येक वर्ष करिब ११ हजार ५०० जनामा प्यान्क्रियाजको क्यान्सर पहिचान हुने गरेको छ । यसैगरी, वार्षिक करिब १० हजार २०० जनाको यसै रोगका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ ।

क्यान्सर उपचारको इतिहासमा पनि विभिन्न समयमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । विलियम हाल्स्टेडले स्तन क्यान्सरको उपचारका लागि पहिलो पटक ‘¥याडिकल मास्टेक्टोमी’ शल्यक्रिया विधि अपनाएका थिए । यो विधि २०औँ शताब्दीको उत्तरार्द्धसम्म स्तन क्यान्सर उपचारको मुख्य मानक पद्धतिका रूपमा रह्यो ।
ब्राजिलका नेत्ररोग विशेषज्ञ हिलारियो डे गौभियाले क्यान्सरको जोखिम आमाबाबुबाट सन्तानमा सर्न सक्ने पहिलो लिखित प्रमाण प्रस्तुत गरेका थिए । बाल्यकालमा आँखाको घातक ट्युमर रेटिनोब्लास्टोमाको सफल उपचार गराएका एक पिताका सात सन्तानमध्ये दुई जनामा पनि सोही रोग देखिएको विवरण उनले सार्वजनिक गरेका थिए ।
स्वीडेनका चिकित्सक टोर स्टेनबेक र तागे स्योग्रेनले एक्सरे थेरापीमार्फत छालाका दुई प्रकारका क्यान्सर—बेसल सेल कार्सिनोमा र स्क्वामस सेल कार्सिनोमा—निको पारिएका पहिलो घटनाको विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै, सर जेफ्री किन्सले स्तन जोगाएर गरिने शल्यक्रिया र त्यसपछि विकीरण उपचार (रेडिएसन थेरापी) मार्फत स्तन क्यान्सरको उपचार गर्ने विधिको वर्णन गरेका थिए । यस विधिमा ट्युमर हटाउने शल्यक्रियापछि प्रभावित स्तन र नजिकैका काखीका ग्रन्थी (एक्सिलरी लिम्फ नोड्स) आसपास रेडियमयुक्त लामा सुईहरू राखेर उपचार गरिन्थ्यो ।
रोय हट्र्ज र मीन चिउ लीले ‘मेथोट्रेक्सेट’ औषधिको प्रयोग गरी ‘कोरियोकार्सिनोमा’ भएकी एक बिरामीको उपचार गरेका थिए । प्रजनन तन्तुमा हुने यो दुर्लभ क्यान्सर मुख्यतः महिलामा देखिन्छ । उनीहरूले केमोथेरापीमार्फत मानव शरीरको ठोस ट्युमर (सोलिड ट्युमर) पूर्ण रूपमा निको पार्ने पहिलो सफलता हासिल गरेका थिए ।
क्यान्सर उपचारमा अर्को महत्वपूर्ण उपलब्धि प्रारम्भिक चरणको स्तन क्यान्सरसम्बन्धी क्लिनिकल परीक्षणबाट प्राप्त भएको थियो । उक्त परीक्षणले स्तन जोगाएर गरिने शल्यक्रिया (लम्पेक्टोमी) र त्यसपछि पूर्ण स्तनमा गरिने रेडिएसन थेरापीबाट उपचार गरिएका महिलाको समग्र बाँच्ने दर तथा रोगमुक्त जीवनको दर स्तन पूर्ण रूपमा हटाउने शल्यक्रिया (मास्टेक्टोमी) गरिएका महिलाको जत्तिकै रहेको देखाएको थियो ।
यसैगरी, अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले हर्मोन थेरापीले काम गर्न छाडेको र शरीरका अन्य भागमा फैलिएको प्रोस्टेट क्यान्सरको उपचारका लागि ‘सिपुल्युसेल-टी’ खोपलाई स्वीकृति दिएको थियो । बिरामीकै प्रतिरक्षा प्रणालीका डेन्ड्रिटिक कोषहरू प्रयोग गरी तयार गरिने यो खोप मानव क्यान्सर उपचारका लागि स्वीकृति पाउने पहिलो खोप हो । हालसम्म यो क्यान्सर उपचारका लागि स्वीकृति पाएको एक मात्र खोपका रूपमा रहेको छ ।
क्यान्सर उपचारको इतिहासमा भएका यस्ता उपलब्धिका बीच प्यान्क्रियाजको क्यान्सरका लागि विकास गरिएको नयाँ चक्की औषधिलाई पनि महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ । यद्यपि, यसको दीर्घकालीन प्रभावकारिता र उपचारमा पर्ने वास्तविक प्रभाव पुष्टि हुन थप अध्ययन आवश्यक छ ।







