काठमाडौं । स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय विकासको प्राथमिकतामा राख्दै उपचारभन्दा रोगको रोकथाम र स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड दिनुपर्ने निष्कर्षसहित प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले स्वास्थ्य प्रवर्द्धनलाई राज्यको प्रमुख प्राथमिकताका रूपमा स्थापित गर्नुपर्ने निष्कर्षसहित १४ बुँदे घोषणापत्र जारी गरेको छ ।
ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको दुईदिने सम्मेलन शनिबार सम्पन्न भएको हो । सम्मेलनको अन्तिम दिन स्वास्थ्य शिक्षा तथा प्रवर्द्धनका क्षेत्रमा करिब एक दर्जन कार्यपत्र प्रस्तुत गरिएको थियो ।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन भएको हो ।

सम्मेलनले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय विकासको एजेन्डाका रूपमा अघि बढाउन सबै तहका सरकार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ । घोषणापत्रमा सबै नीतिमा स्वास्थ्यको अवधारणा लागू गर्ने, राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन आयोग गठन गर्ने तथा संघ, प्रदेश र स्थानीय तहमा अन्तरक्षेत्रीय समन्वय र एकीकृत कार्यक्रम विस्तार गर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, विद्यालय तथा विभिन्न संस्थालाई स्वास्थ्य प्रवर्द्धनमैत्री बनाउने, सुरक्षित खानेपानी र सरसफाइको व्यवस्था गर्ने तथा ज्येष्ठ नागरिक र जोखिममा रहेका समुदायलाई लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने उपाय र स्वस्थ जीवनशैली विकासलाई प्राथमिकता दिनुपर्ने घोषणापत्रको मुख्य सन्देश छ ।

घोषणापत्रले स्वास्थ्य प्रवर्द्धनमा सञ्चारमाध्यमको प्रभावकारी परिचालन, दक्ष जनशक्ति उत्पादन र स्वास्थ्यमा नकारात्मक असर पार्ने व्यावसायिक गतिविधिको नियमनलाई पनि प्राथमिकतामा राखेको छ । यसका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने, अनुसन्धान तथा प्रमाणमा आधारित नीति निर्माणलाई प्रोत्साहन गर्नुपर्ने र राष्ट्रियस्तरमा सम्मेलन, छलफल तथा अन्तरक्रियामार्फत ज्ञान र अनुभव आदानप्रदान गर्नुपर्ने विषयसमेत समेटिएका छन् ।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालका अध्यक्ष हेमराज खड्काले सम्मेलन सफल भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । संघका उपाध्यक्ष विनोद अर्यालले नेपालमा पहिलोपटक यस किसिमको सम्मेलन आयोजना हुनु ऐतिहासिक उपलब्धि भएको बताए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले स्वस्थ समाज निर्माणका लागि सरकारले स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइरहेको बताइन् । स्वास्थ्य शिक्षा र प्रवर्द्धनको अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा नागरिक समाज सबैको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।
सम्मेलनका अवसरमा स्वास्थ्य प्रवर्द्धन क्षेत्रमा योगदान पुर्याएका राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका पूर्वनिर्देशकहरू लक्ष्मीरमण बन र लक्ष्मीनारायण देवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
‘स्वास्थ्य प्रवर्द्धनलाई एउटा गतिविधिका रूपमा मात्र होइन, एक स्वतन्त्र विधाका रूपमा बुझौँ’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनको उद्घाटन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गरेकी थिइन् । सम्मेलनको समापनसँगै अन्तिम दिनलाई ‘नेसनल हेल्थ प्रमोसन डे’ अर्थात् राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवसका रूपमा समेत घोषणा गरिएको छ ।







