गुल्मी । गुल्मी अस्पतालको नवनिर्मित पाँचतले भवनबाट मंसिरको अन्तिम सातादेखि पूर्ण रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । नयाँ भवनमा गृह प्रवेश सम्पन्न भएसँगै अस्पतालले आवश्यक उपकरण, स्वास्थ्य सामग्री र पूर्वाधार व्यवस्थापनको काम अघि बढाएको छ ।
२५ करोड ९५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको उक्त भवनमा बहिरङ्ग सेवा (ओपीडी), आकस्मिक सेवा, प्रसूति सेवा, शल्यक्रिया, सघन उपचार कक्ष (आईसीयू) तथा विशेषज्ञ उपचार सेवाका लागि आवश्यक संरचना तयार गरिएको छ ।
नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा क्षमता विस्तार हुनुका साथै बिरामीले सहज र गुणस्तरीय उपचार पाउने अस्पताल प्रमुख डा. विभव बस्यालले बताए । पुरानो र साँघुरो भवनका कारण सेवा प्रवाहमा देखिँदै आएको समस्या नयाँ संरचना सञ्चालनमा आएपछि समाधान हुने उनको अपेक्षा छ ।

भवन निर्माणका लागि २०७८ असारमा सम्झौता भएको थियो । सम्झौताअनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले निर्माण कार्य पूरा हुन झण्डै पाँच वर्ष लागेको हो ।
नयाँ भवनबाट सेवा सुरु भएपछि गुल्मीका बिरामीले सामान्यदेखि जटिल स्वास्थ्य उपचारका लागि समेत अन्य जिल्लाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । विशेषगरी विशेषज्ञ सेवा, आकस्मिक उपचार र शल्यक्रियाका लागि स्थानीयस्तरमै सुविधा विस्तार हुँदा बिरामी तथा आफन्तलाई राहत पुग्ने विश्वास गरिएको छ ।








