काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगले विश्वका ठूला औषधि उत्पादक कम्पनीहरूको औषधि विकास प्रक्रिया तीव्र बनाएको छ । एआईको सहायताले नयाँ अणु (मोलिक्युल) विकास गर्ने र तिनलाई क्लिनिकल परीक्षणसम्म पुर्याउने समय झन्डै आधाले घटेको शीर्ष वैज्ञानिकहरूले बताएका छन् । समाचार संस्था रोयटर्सका अनुसार विश्वका ठूला औषधि उत्पादक कम्पनीहरूले एआईलाई औषधि अनुसन्धानको महत्वपूर्ण हिस्सा बनाउन थालेका छन् ।
जीएसके, ब्रिस्टल मायर्स स्क्विब, नोभार्टिस, एली लिली, नोभो नर्डिस्क, एस्ट्राजेनेका र सानोफीजस्ता विश्वप्रसिद्ध कम्पनीहरूले एआईको प्रयोग नियामक कागजात तयार पार्ने सामान्य काममा मात्र सीमित राखेका छैनन् । उनीहरूले नयाँ अणु डिजाइन गर्ने, उपयुक्त अणु छनोट गर्ने र औषधिको सुरक्षा जोखिम पहिचान गर्नेजस्ता जटिल अनुसन्धानमा समेत एआईको प्रयोग विस्तार गरेका छन् ।

फार्मा क्षेत्रका वैज्ञानिकहरू दशकौँदेखिको औषधि अनुसन्धानको अनुभव र विशाल डेटा भण्डारका कारण आफूहरू एआई कम्पनीहरूको तुलनामा बलियो अवस्थामा रहेको बताउँछन् । तर, यसै साता १.५ ट्रिलियन अमेरिकी डलरको आईपीओसहित बजारमा आएको ‘एन्थ्रोपिक’ जस्ता एआई कम्पनीहरू औषधि उद्योगका लागि प्रतिस्पर्धी र साझेदार दुवै बन्ने सम्भावना देखिएको छ । एन्थ्रोपिकले पछिल्ला महिनाहरूमा आफ्नै प्रयोगशाला स्थापना गर्नुका साथै औषधि खोजी प्रक्रिया तीव्र बनाउन विभिन्न लगानीको घोषणा गरेको छ ।
औषधि कम्पनीका वैज्ञानिकहरूका अनुसार एआई उपकरणले अहिले नै व्यावहारिक नतिजा दिन थालेका छन् । सानोफीले दमको उपचारका लागि ‘लुन्सेकिमिग’ औषधि विकास गर्दा एआईको सहयोगमा डोज छनोटसम्बन्धी एउटा अध्ययन नगरी नै क्लिनिकल निर्णय लिन सकेको जनाएको छ । यसबाट कम्पनीको कम्तीमा एक वर्ष समय बचत भएको बताइएको छ ।

त्यस्तै, नोभार्टिसले मिर्गौला रोगको उपचार विकास गर्न एआई उपकरणको सहायताले पाँचवटा मुख्य लक्ष्य पहिचान गरेको छ । कम्पनीकी बायोमेडिकल रिसर्च अध्यक्ष फियोना मार्सलका अनुसार औषधि छनोट गर्न लाग्ने औसत समय तीन वर्षबाट घटेर १८ महिनादेखि दुई वर्षमा झरेको छ ।
ब्रिस्टल मायर्सले पनि सिकल सेल एनिमियासम्बन्धी आफ्नो एउटा औषधि एआई प्रणालीको सहयोगबिना विकास गर्न सम्भव नहुने जनाएको छ । कम्पनीका मुख्य अनुसन्धान अधिकृत रोबर्ट प्लेन्जले एआई मोडललाई प्रयोगशाला अटोमेसनसँग जोडेर अझ गुणस्तरीय अणु छिटो निर्माण गर्ने लक्ष्य रहेको बताएका छन् ।
यता, नोभो नर्डिस्कले नयाँ अणु डिजाइन गर्ने, निर्माण गर्ने र परीक्षण गर्ने प्रक्रियाको चक्र आठबाट घटाएर तीनमा झारेको जनाएको छ । त्यस्तै, प्रत्येक चक्र पूरा गर्न लाग्ने समय पनि आठ हप्ताबाट घटेर चार हप्तामा सीमित भएको कम्पनीले जानकारी दिएको छ ।
तर, औषधि विकासमा एआईको प्रयोग बढे पनि क्लिनिकल परीक्षणसम्म पुगेका एआईमा आधारित औषधिको सङ्ख्या भने अपेक्षाकृत तीव्र गतिमा बढेको छैन । गत मार्चमा ६९ कम्पनीका १२९ वटा औषधि क्लिनिकल परीक्षणको चरणमा थिए । यो सङ्ख्या आठ महिनाअघि ११७ थियो । यसले औषधि अनुसन्धानको प्रारम्भिक चरणमा एआईको प्रभाव देखिन थाले पनि त्यसको नतिजा बिरामीसम्म पुग्ने प्रक्रियामा अझै समय लाग्ने संकेत गर्छ ।







