
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागले केही मिडिया तथा सामाजिक सञ्जालमा प्रसारित भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले सञ्चार माध्यमहरूले सत्य तथ्य नबुझिकन, व्यक्तिगत स्वार्थका लागि औषधि मूल्य वृद्धि सम्बन्धी गलत समाचार प्रसारण गरेको भन्दै आपत्ति जनाएको हो।
यसअघि पनि पटक–पटक सूचना प्रकाशित गर्दै मूल्य निर्धारण र अनुगमन प्रक्रियाबारे जानकारी दिइसकेको बताउँदै विभागले आधिकारिक स्रोतबाट मात्र जानकारी लिन पत्रपत्रिका, सञ्चार माध्यम र आम नागरिकसँग अनुरोध गरेको छ। विभागका अनुसार, हालसम्म नेपाल सरकारको स्वीकृति लिएर ११७ प्रकारका औषधिको अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको छ। मूल्य निर्धारण गर्दा औसत, मध्यम र तुलनात्मक मूल्यका आधारमा वैज्ञानिक विधि अपनाइन्छ भने औषधि दर्ता कार्यविधि २०७३ अनुसार कुनै पनि औषधिको मूल्य सम्बन्धित देशको सन्दर्भ मूल्यभन्दा बढी राख्न अनुमति नभएकाे विभागले जानएकाे छ।
हालको अवस्थामा उत्पादकद्वारा निर्धारण भएका औषधि मूल्यको पारदर्शिता कायम राख्न विभागले सन्दर्भ मूल्य, तुलनात्मक मूल्य र पूर्व निर्धारित अधिकतम खुद्रा मूल्य अनुसार अनुगमन गर्दै आएको छ।



