
झापा- झापाको कमल गाउँपालिका–६ मा एक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुई जनालाई ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले बुधबार राति ११ बजेतिर विष्णुप्रसाद बगालेको घरमा छापा मारेको हो।
प्रहरीका अनुसार काटाचोकस्थित बगालेको घरमा गोप्य सूचनाका आधारमा तलासी लिँदा ठूलो परिमाणमा प्रतिबन्धित औषधिहरू फेला परेका थिए। घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३,००० थान, डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २,११० थान र स्पास्पेन ट्याब्लेट २,०५० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बरामद औषधिहरूको स्रोत, आपूर्ति श्रृङ्खला र प्रयोगबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। औषधिसहित पक्राउ परेका घरधनी विष्णुप्रसाद बगाले र दमक नगरपालिका–६, थानारोडका गंगाबहादुर खड्कालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका खड्का दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक रहेको खुलेको छ। प्रहरीले यो घटनालाई औषधि दुरुपयोग र गैरकानुनी वितरणको सन्दिग्ध जालोको रूपमा लिएर गम्भीर रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।


