

मोरङ – मोरङको केरावारी गाउँपालिका–७ स्थित एक मेडिकलबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ। लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा बेलबारी नगरपालिका–८ का २८ वर्षीय मनिष कुँवर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्यूराे विराटनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान साढे ८ बजेतिर सुभद्रा विकको घरमा सञ्चालन भइरहेको मुगु मेडिकलमा छापा मारेर प्रतिबन्धित लागुऔषध फेला पारेको हो।
प्रहरीका अनुसार मेडिकलको खानतलासी गर्दा डेकाेलिक ब्रान्डका ४,५०० वटा ट्याब्लेट र ट्रामाडोलका ४,५०० वटा ट्याब्लेट बरामद गरिएको छ। यी दुबै औषधि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति नलिएर कारोबार गर्न नपाइने वर्गमा पर्दछन्।
बरामद गरिएका औषधिसहित मनिष कुँवरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।



