

अछाम- सरकारले सर्वसाधारणका लागि निःशुल्क उपलब्ध गराउने औषधि स्थानीय स्वास्थ्य संस्थाकै एक स्वास्थ्यकर्मीले निजी क्लिनिकमार्फत बिक्री गर्दै आएको खुलेकाे छ। मौलास्थित एक निजी क्लिनिकबाट औषधि किन्ने क्रममा स्थानीय मानबहादुर विकले खिचेको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको हो। उक्त भिडियोमा उनले १५० रुपैयाँ तिरेर औषधि खरिद गरेको देखिन्छ। सो क्लिनिकमा कार्यरत अनमी शान्ति रावलमाथि औषधि बिक्रीमा संलग्न भएको आरोप लागेको छ।
स्वास्थ्य स्रोतका अनुसार बिक्रीमा आएको औषधि स्थानीय स्वास्थ्य चौकीबाट वितरण गरिनुपर्ने निःशुल्क औषधिमध्ये पर्छ। तर, ती औषधि स्वास्थ्य चौकीबाटै निकालेर निजी क्लिनिकमा बिक्री गरिएको शंका गरिएको छ।
यता, स्वास्थ्य चौकी इन्चार्ज नवीन खत्रीले भने औषधि बिक्री भएको भन्ने आरोप अस्वीकार गरेका छन्। उनका अनुसार अनमी रावलले बिरामीसँग पैसा लिएको प्रमाण नभएको दाबी छ।
विवाद बढ्दै गएपछि स्वास्थ्य चौकी व्यवस्थापन समितिले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ। समितिका अनुसार घटनाबारे थप जानकारी लिने र आवश्यक निर्णय गर्ने तयारी भइरहेको छ।
स्थानीयले यो घटनालाई गम्भीर लापरबाही भन्दै सरकारी सेवा र जनस्वास्थ्यसँग खेलवाड भएको बताएका छन्। उनीहरूले सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।



