धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका निजी अस्पतालहरूले यहाँका लक्षित वर्ग, गरिब (विपन्न), असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन्। मंगलबार निःशुल्क उपचार गर्नेबारेमा उपमहानगरपालिका र एसोसियसन अफ पब्लिक हेल्थ इन्सिच्युसन नेपाल तथा सुदूरपश्चिमबीच समझदारी भएको छ।
उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ तथा निजी अस्पतालहरूको तर्फबाट एसोसियसन अफ पब्लिक हेल्थ इन्सिच्युसन नेपाल सुदूरपश्चिमका अध्यक्ष तीर्थराज पन्त, केन्द्रीय सदस्य जनकराज जोशी र अफिन सुदूरपश्चिमका उपाध्यक्ष रमेश पाण्डेले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार निजी अस्पतालहरूले अस्पतालको कूल शय्याको दश प्रतिशत शय्यामा ‘निःशुल्क शय्या’ भनेर उल्लेख गर्नुपर्नेछ।
अस्पतालले निःशुल्क उपचारको सिफारिससहित सेवा लिन आएका लक्षित बिरामीहरूको अलग्गै रजिस्टर खडा गरी अभिलेखीकरण राख्नुपर्ने समझदारीपत्रमा उल्लेख छ। निजी अस्पतालहरूले चिकित्सक परामर्श, नर्सिङ, अक्सिजन, रेडियोलोजी सेवा (एक्सरे र भिडियो एक्सरे सेवा), प्याथोलोजी सेवा र सम्पूर्ण औषधिमा १० प्रतिशत छुटको व्यवस्था गर्नुपर्नेछ। अस्पतालमा निःशुल्क उपचार सेवा दिएका बिरामीहरुको कूल खर्च रकमसहितको सम्पूर्ण विवरण दैनिक रूपमा सार्वजनिकरण गर्ने, अस्पतालले मासिक रूपमा निःशुल्क सेवा प्रदान गरेका बिरामीहरुको प्रतिवेदन धनगढी उप–महानगरपालिकामा पेश गर्नुपर्ने पनि समझदारीपत्रमा उल्लेख छ।
यस्तै, निःशुल्क सेवा प्राप्त गर्नका लागि निवेदन दिनुपर्नेछ। वडाको सिफारिस प्राप्ति पश्चात धनगढी उपमहानगरपालिकाबाट अस्पताललाई निःशुल्क उपचार गराइदिने सम्बन्धको पत्र लगी सम्बन्धित अस्पतालमा उपचार गर्नुभन्दा पहिले पेश गर्नुपर्नेछ तर आकस्मिक सेवाका लागि आएका लक्षित वर्गलाई सिफारिस नभएपनि सम्बन्धित अस्पतालले प्राथमिक उपचार निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाउने र थप उपचारका लागी सिफारिस माग गर्नुपर्नेछ।