काठमाडौँ । श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजित पहिलो बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बिहीबार मध्याह्न स्वदेश फर्किएकी छन्।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरूबीच स्वास्थ्य सेवा विस्तार र क्षेत्रीय स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिइन्।
उनका अनुसार बैठकमा जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभाव, त्यससँग सम्बन्धित एजेन्डा तथा पारस्परिक चिकित्सालाई प्रवर्द्धन र विकास गर्ने विषयमा पनि गहन छलफल भएको थियो। बैठकका क्रममा श्रीलङ्काका प्रधानमन्त्रीसँग भेटघाट हुनुका साथै बिमस्टेकका सातवटै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग विभिन्न साइड इभेन्टमा समेत सहभागी भएको उनले बताइन्।

मन्त्री मेहताले क्यान्सरलगायत घातक रोगका औषधि बेलाबेलामा अभाव हुने समस्यालाई ध्यानमा राख्दै बंगलादेशसँग सरकारी तह (जी–टु–जी) को सहकार्यमार्फत औषधिको लागत घटाउने र सहज उपलब्धता सुनिश्चित गर्ने विषयमा पहल गरिएको पनि जानकारी दिइन्।
यसअघि बैठकलाई सम्बोधन गर्दै मन्त्री मेहताले उत्थानशील स्वास्थ्य प्रणाली निर्माण, सीमापार रोग निगरानी, एक स्वास्थ्य (वन हेल्थ), एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रण, जलवायु उत्थानशील स्वास्थ्य सेवा र डिजिटल स्वास्थ्य प्रविधिको महत्त्व औँल्याएकी थिइन्। उनले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन्।







