काठमाडौं, ७ मंसिर । आधुनिक चिकित्साको विकास र प्रयोगसँगै विस्तारै परम्परागत उपचार र विधिका बारेमा कम चर्चा गरिन्छ । आधुनिक औषधि विज्ञानमात्र प्रभावकारी र अन्य विधा प्रभावहीन भएका झैं तर्कहरु पेशाकर्मीबाटै आउने गरेको छ ।
तर, पछिल्लो समय उपचारमा समग्रताको अभ्याँसलाई अवलम्बन गर्ने गरिएको छ । विश्वभरी नै आधुनिक चिकित्सा सँगै सहायक रुपमा विभिन्न परम्परागत उपचार पद्धतिको प्रयोग गर्ने गरिएको छ । यस्तै प्रयोग नेपालको अन्नपूर्ण न्यूरो अस्पतालमा पनि हुने गरेको छ ।
वरिष्ठ नशा शल्यचिकित्सक बसन्त पन्त नेतृत्वको अस्पतालमा पछिल्लो १ वर्षमा ९ हजारभन्दा धेरैले अकुपंचर उपचार लिएका छन् । अकुपंचर दिवसका दिन बिहीवार आयुर्वेद विभागमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल निर्देशक डा. सुदन ढकालले अकुपञ्चर विधि नशाको शल्यक्रिया र उपचार गर्दा प्रभावकारी देखिएको बताए । अस्पतालले सन् २०१३ देखि नै अस्पतालले नशाको उपचारमा आधुनिक चिकित्सासँगै अकुपंचर विधिपनि प्रयोग गर्ने गरिएको छ ।
‘हामीले विगत दशवर्षदेखि अकुपंचर विधिको उपचार सेवा पनि दिएका छौं । यो प्रभावकारी छ । अध्ययन र प्रमाण सहितका परम्परागत चिकित्सालाई पनि हामीले सँगै लैजानुपर्छ ।’ निर्देशक ढकालले बताए ।
भिडियो हेर्नुहोस् ।
अस्पतालकी अकुपंचरिस्ट डा. जया सत्यालले आइसियुमा भएका बिरामीदेखि जटिल शल्यक्रिया गरेका बिरामीलाई पनि अकुपंचर प्रभावकारी हुने गरेको बताइन् । आधुनिक चिकित्सा भन्दा प्रभावकारी र सुलभ पद्धति अकुपञ्चर लगायत वैकल्पिक चिकित्साका विभिन्न विधाहरुमा उपयुक्त खोज, अनुसन्धान र नियमन हुनुपर्ने सत्यालको भनाइ छ । उनले अब बिरामीको उपचार गर्दा प्रभावकारी हुनसक्ने एक, दुई वा सोभन्दा पनि धेरै उपचार पद्धतिको सहयोग लिनुपर्ने डा. सत्यालको भनाइ छ ।