काठमाडौं, २७ असोज । संसदमा दर्ता भएको औषधि ऐनलाई विस्थापन गर्न बनेको विधेयकमा गरिएको व्यवस्थामा औषधि व्यवसायीहरुको छाता संस्था नेपाल औषधि व्यवसायी संघले असहमति जनाएको छ ।
गत असोज १२ गते संसदमा दर्ता भएको औषधि तथा स्वस्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक २०८० मा व्यवस्था गरिएको औषधि तथा स्वस्थ्य सामग्री परामर्श परिषद् र औषधि तथा स्वस्थ्य सामग्री सल्लाहकार समितिमा संघलाई सदस्यका रुपमा नराखिएको भन्दै औषधि व्यवसायीहरु असन्तुष्ट भएका हुन् ।
नयाँ बनेको विधेयेकको दफा ४३ को उपदफा १ र दफा ४५ को उपदफा १ मा भएको व्यवस्थामा संशोधन गरेर ती परिषद् र समितिमा संघलाई पनि सदस्यका रुपमा राख्न माग गरेको छ ।
साथै संघले ५० वर्षको इतिहास भएको आफ्नो संघलाई विधेयकको मस्यौदा बनाउने क्रममा छलफल नगरेकोमा पनि आपत्ति प्रकट गरेको छ ।
विधेयकमा भएको व्यवस्थाको विरोध गर्दै असन्तुष्ट बनेको संघले यसअघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई भेटेर माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाइसकेका छन् ।
शनिवारपनि औषधि व्यवसायी संघ कर्णाली प्रदेशका प्रतिनिधिहरुले उपप्रधान एवं रक्षमन्त्री पुर्णबहादुर खड्कालाई सुर्खेतमा भेटेर माग सम्बोधनका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।