सुर्खेत, २६ असोज । कर्णाली प्रदेशलाई पूर्ण खोप प्रदेश घोषणा गरिएको छ ।
सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले बिहीवार पूर्णखोप प्रदेश घोषणा गरेका हुन् ।
स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरेका हुन् ।
हालसम्म तीन प्रदेश र ७२ जिल्ला पूर्णखोप घोषणा गरिसकिएको छ । पूर्णखोप घोषणा हुने कर्णाली चौथो प्रदेश बनेको छ ।
प्रदेशका दश जिल्लाका ३४ हजार छ सय ७१ बालबालिका सबैले खोप लगाएपछि ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गरिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत निर्देशक डा. रविन खड्काले स्वास्थ्य डायरीलाई जानकारी दिए ।
कर्णालीका सबै जिल्ला यसअघि नै पूर्ण खोप घोषणा भइसकेका छन् । जस अनुसार दैलेख २०७४, सुर्खेत २०७५, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यान २०७९ मा तथा डोल्पा र हुम्ला २०८० मा पूर्णखोप जिल्ला घोषणा गरिएको छ ।