काठमाडौँ । औषधिको उचित प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा तेस्रो ‘आईएसआईयुएम अन्तर्राष्ट्रिय सम्मेलन’ आजदेखि सुरु हुँदैछ । ‘परिवर्तित विश्वमा औषधिको उचित प्रयोग’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलन नोभेम्बर १९ देखि २१ सम्म तीन दिन सञ्चालन हुनेछ ।
अन्तर्राष्ट्रिय औषधि प्रयोग सुधार समाजको आयोजनामा हुने सम्मेलनमा नेपालसहित विभिन्न देशका विज्ञ तथा अनुसन्धानकर्ताहरू सहभागी हुनेछन् ।

नेपाल फार्मेसी परिषद्का अध्यक्षसमेत रहेका सम्मेलनको स्थानीय आयोजक समिति अध्यक्ष डा. कादिर आलमका अनुसार सम्मेलनमा २३ देशका १५० जना प्रतिनिधिको सहभागिता रहनेछ ।
सम्मेलनमा औषधि प्रयोग सुधारको मापन, कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) र औषधिसम्बन्धी सूचनाका विषयमा कार्यशाला सञ्चालन गरिनेछ । त्यस्तै, औषधिको उचित प्रयोगका लागि आवश्यक नीति तथा कार्यक्रम, गुणस्तरीय अनुसन्धानका विधि र डिजिटल प्रविधिको उपयोगबारे विभिन्न सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।








