काठमाडौं । एन्टिबायोटिकको गलत तथा अनावश्यक प्रयोगले भविष्यमा सामान्य सङ्क्रमणसमेत उपचार गर्न कठिन हुने जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाले यसको सही प्रयोग गर्न आग्रह गरेका छन् ।
प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स–एएमआर) विरुद्धको सचेतना सप्ताह २०२६ का अवसरमा एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न र यसको महत्वबारे जनचेतना फैलाउन जोड दिइएको हो । नोभेम्बर १८ देखि २४ सम्म मनाइने यस वर्षको सप्ताहको नारा ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ रहेको छ ।
एन्टिबायोटिक जीवनरक्षक औषधि भए पनि यसको गलत प्रयोगले सूक्ष्मजीवमा औषधिविरुद्ध प्रतिरोध गर्ने क्षमता विकास हुने र उपचार प्रभावकारी नहुने समस्या बढ्ने जोखिम रहन्छ । सबै रोगमा एन्टिबायोटिक आवश्यक नपर्ने भएकाले चिकित्सकको सल्लाहबिना यसको प्रयोग नगर्न आग्रह गरिएको छ ।
एन्टिबायोटिक प्रयोग गर्दा चिकित्सकले तोकेको मात्रा र अवधिअनुसार औषधि सेवन गर्नुपर्छ । बिरामी निको भएको महसुस भए पनि चिकित्सकको सल्लाहबिना औषधि सेवन रोक्नु हुँदैन । बाँकी रहेको औषधि पछि प्रयोग गर्ने वा अरूलाई दिने कामसमेत गर्नु हुँदैन ।

त्यस्तै, सङ्क्रमणबाट बच्न नियमित खोप लगाउने, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात धुने, सफा तथा सुरक्षित खाना खाने र आवश्यकताअनुसार मास्क प्रयोग गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको जोखिम भएका बेला मास्क लगाउने र आवश्यक भौतिक दूरी कायम गर्ने उपायले पनि सङ्क्रमण फैलिनबाट रोक्न सहयोग पुर्याउँछ ।
प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपन्छी, कृषि तथा वातावरणसँग समेत जोडिएको समस्या भएकाले यसको नियन्त्रणका लागि सबै क्षेत्रको समन्वय आवश्यक रहेको छ ।








