काठमाडौं । संयुक्त राज्य अमेरिकाले तीन दशकयताकै ठूलो दादुरा सङ्क्रमणको सामना गरेपछि दादुरामुक्त राष्ट्रको हैसियत गुमाएको छ । खोप लगाउने दरमा आएको गिरावट र दादुरा सङ्क्रमण निरन्तर फैलिन थालेपछि पान अमेरिकन हेल्थ अर्गनाइजेसन (पीएएचओ) ले अमेरिकाको दादुरामुक्त मान्यता रद्द गरेको हो ।
अघिल्लो वर्षको सुरुवातदेखि अमेरिकामा दादुरा सङ्क्रमण तीव्र रूपमा बढेको छ । त्यसयता झन्डै आठ हजार जनामा सङ्क्रमण देखिएको र १३ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । यस वर्ष मात्रै पाँच हजार ४०० जनामा सङ्क्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । सन् १९९० को दशकयताकै यो सबैभन्दा ठूलो सङ्क्रमण र मृत्युको सङ्ख्या हो ।
संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत निकायअन्तर्गत रहेको पीएएचओले अमेरिकामा १२ महिनाभन्दा बढी समयसम्म दादुरा भाइरसको सङ्क्रमण निरन्तर फैलिएको निष्कर्ष निकालेको छ । पीएएचओले मेक्सिको र बोलिभियाको दादुरामुक्त राष्ट्रको मान्यता पनि रद्द गरेको छ । खोप अभियानमा देखिएका कमजोरीका कारण यी देशमा पुनः सङ्क्रमण फैलिएको पीएएचओका निर्देशक जार्बास बार्बोजाले बताएका छन् ।

कोभिड महामारीपछि खोपप्रति जनविश्वास घट्नु र बालबालिकामा खोप लगाउने दर कम हुनु सङ्क्रमण बढ्नुको प्रमुख कारण मानिएको छ । अमेरिकामा दादुरा, मम्प्स र रुबेला (एमएमआर) खोप लगाउने दर ९२.४ प्रतिशतमा झरेको छ । सामूहिक प्रतिरोधी क्षमता कायम राख्न आवश्यक मानिने ९५ प्रतिशतभन्दा यो कम हो ।
दादुरा तीव्र गतिमा फैलिने भाइरसबाट हुने सङ्क्रामक रोग हो । यसले शरीरभर रातो बिमिराजस्ता धब्बा देखिने समस्या निम्त्याउँछ । खोप विकास हुनुअघि यस रोगका कारण हरेक वर्ष विश्वभर लाखौँ बालबालिका प्रभावित हुने गरेका थिए । दादुराले गम्भीर अवस्था निम्त्याउन सक्ने र कतिपय बिरामीमा मस्तिष्क सुन्निने (इन्सेफलाइटिस) तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेजस्ता दीर्घकालीन जटिलता देखिन सक्ने विज्ञहरूले बताएका छन् ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले खोपमा पहुँच विस्तार गरी दादुरामुक्त राष्ट्रको मान्यता पुनः प्राप्त गर्न प्रतिबद्ध रहेको जनाएको छ । सीडीसीकी निर्देशक एरिका स्वोर्टसले दादुरामुक्त हैसियतले भन्दा खोपले नागरिकलाई सुरक्षा दिने बताउँदै सङ्क्रमण फैलिएका समुदायमा स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् ।

अमेरिकाका स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनिअर खोपप्रति शङ्कालु दृष्टिकोण राख्ने व्यक्तिका रूपमा चिनिन्छन् । उनले आफूले जिम्मेवारी सम्हाल्नुअघि नै दादुरा सङ्क्रमण बढ्न थालेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिएको तर्क गर्दै आएका छन् । यद्यपि, उनले सामाजिक सञ्जालमार्फत एमएमआर खोप दादुरा नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन् ।
केनेडीले खोपसम्बन्धी नीति र सुझावमा व्यापक परिवर्तनको प्रयास गरेका छन् । उनले अघिल्लो वर्ष खोपसम्बन्धी प्रमुख सल्लाहकार समूहका सबै सदस्यलाई हटाएर नयाँ सदस्य नियुक्त गरेका थिए । नयाँ समूहले नवजात शिशुलाई हेपाटाइटिस बीविरुद्धको खोप आवश्यक नपर्ने लगायतका परिवर्तन सिफारिस गरेको थियो । तर, एक सङ्घीय न्यायाधीशले उक्त निर्णय कार्यान्वयनमा रोक लगाएका थिए ।
त्यस्तै, राष्ट्रपति डोनल्ड ट्रम्पले यसै वर्ष दादुरा, मम्प्स र रुबेलाका लागि एउटै एमएमआर खोपको सट्टा छुट्टाछुट्टै खोप दिनुपर्ने कार्यकारी आदेश जारी गरेका थिए । सार्वजनिक स्वास्थ्य क्षेत्रका विज्ञहरूले यसले खोप महँगो बनाउनुका साथै सुरक्षित खोपबारे सर्वसाधारणमा अन्योल बढाउन सक्ने चेतावनी दिएका थिए ।
कोलम्बिया विश्वविद्यालयका इर्भिङ मेडिकल सेन्टरका सहप्राध्यापक नुवान गुनबर्धनले अमेरिकाले दादुरामुक्त राष्ट्रको मान्यता गुमाउनु ठूलो पश्चगमन भएको बताएका छन् । उनका अनुसार कोभिड महामारीपछि खोपबाट प्राप्त हुने सुरक्षाबारे फैलिएको मिथ्या सूचना र सार्वजनिक स्वास्थ्य प्रणालीप्रतिको घट्दो विश्वासले खोप लगाउने दरमा गिरावट आएको हो ।
पीएएचओका खोपसम्बन्धी कार्यकारी व्यवस्थापक डेनियल सालासले दादुरामुक्त मान्यता गुमाएका अमेरिका र अन्य देशले खोपको दर सुधार गर्ने योजनासहित कार्ययोजना पेस गर्नुपर्ने बताएका छन् । यसअघि क्यानडाले पनि ठूलो सङ्क्रमणपछि दादुरामुक्त राष्ट्रको मान्यता गुमाएको थियो । यद्यपि, सङ्क्रमण विस्तार रोक्न क्यानडाले यस वर्ष उल्लेख्य प्रगति गरेको पीएएचओले जनाएको छ ।







