काठमाडौं । औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिकलगायत प्रतिजैविक औषधि बिक्री वितरण नगर्न औषधि व्यवसायीलाई आग्रह गरेको छ ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा विभागले यस्तो आग्रह गरेको हो । यस वर्ष ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ सप्ताह मनाइँदै छ ।
विभागका महानिर्देशक भरत भट्टराईले प्रतिजैविक औषधिको अनुचित तथा अत्यधिक प्रयोगले सूक्ष्मजीवमा औषधि प्रतिरोध गर्ने क्षमता बढ्दै गएको बताएका छन् । यसको परिणामस्वरूप सामान्य सङ्क्रमणको उपचारसमेत जटिल बन्दै गएको उनको भनाइ छ ।
प्रतिजैविक प्रतिरोधको असर मानव स्वास्थ्यमा मात्र सीमित नरही पशुपन्छीको स्वास्थ्य, कृषि उत्पादन, खाद्य सुरक्षा र वातावरणमा समेत परिरहेको विभागले जनाएको छ । यसलाई नियन्त्रण गर्न प्रतिजैविक औषधिको समुचित प्रयोग, सङ्क्रमण रोकथाम, सरसफाइ, खोपको प्रवर्द्धन र प्रभावकारी निगरानी प्रणाली आवश्यक रहेको विभागको भनाइ छ ।
विभागले बिरामीलाई चिकित्सकको सिफारिसबिना आफूखुसी एन्टिबायोटिक प्रयोग नगर्न र चिकित्सकले तोकेको मात्रा तथा अवधिसम्म औषधि सेवन गर्नसमेत आग्रह गरेको छ ।

विभागका अनुसार प्रतिजैविक औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्नुका साथै उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको नियमन गर्दै आएको छ । औषधिको खपतसम्बन्धी तथ्याङ्क सङ्कलन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिवेदन गर्ने काम पनि विभागले गर्दै आएको जनाएको छ ।
त्यस्तै, चिकित्सकीय सिफारिसबिना प्रतिजैविक औषधि बिक्री नगर्न र ‘रिजर्भ’ समूहका एन्टिबायोटिक अस्पतालका फार्मेसीबाट मात्र बिक्री वितरण गर्न विभागले आग्रह गरेको छ ।
प्रतिजैविक प्रतिरोध कुनै एक व्यक्ति वा क्षेत्रको मात्र समस्या नभई साझा जनस्वास्थ्य चुनौती भएकाले यसको रोकथाममा सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको महानिर्देशक भट्टराईले बताएका छन् ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा विभागले सञ्चालन गर्ने जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रममा औषधि व्यवसायी, स्वास्थ्य सेवा प्रदायक, स्वास्थ्यकर्मी, पेशागत सङ्घसंस्था तथा अन्य सरोकारवालालाई सक्रिय सहभागिता जनाउन पनि विभागले आह्वान गरेको छ ।








