काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर) को बढ्दो जोखिम नियन्त्रण गर्न मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली र वातावरण क्षेत्रबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताएकी छन् ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ का अवसरमा भिडियो सन्देश जारी गर्दै मन्त्री मेहताले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई बहुक्षेत्रीय साझा चुनौतीका रूपमा देखा परेको बताएकी हुन् ।
प्रतिजैविक औषधिले प्रभावकारी रूपमा काम गर्न छाड्दा सामान्य सङ्क्रमणको उपचारसमेत जटिल बन्ने र यसले मानव तथा पशु स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उनको भनाइ छ । नेपालमा टाइफाइड, क्षयरोग, मलेरिया, श्वासप्रश्वाससम्बन्धी तथा अस्पतालजन्य सङ्क्रमण गराउने सूक्ष्मजीवमा प्रतिजैविक प्रतिरोध बढ्दै जानु चिन्ताजनक रहेको उनले उल्लेख गरिन् ।

सरकारले एएमआर नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा गर्नुका साथै विभिन्न नीति, कार्यक्रम र पहल अघि बढाएको पनि मन्त्री मेहताले जानकारी दिइन् ।
उनले चिकित्सकको सल्लाहबिना आफूखुसी प्रतिजैविक औषधि सेवन नगर्न, स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार मात्र यस्ता औषधि प्रयोग गर्न तथा सङ्क्रमणबाट बच्न खोप, सरसफाइ र हातको स्वच्छतामा ध्यान दिन आग्रह गरेकी छन् ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।








