चितवन । दसैँ, तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ। पर्व बिदापछि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मंगलबार मात्रै ओपिडीबाट तीन हजार ३०० बिरामीले सेवा लिएका छन्। लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिकसमेत बन्द वा सीमित रूपमा सञ्चालन भएकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उनले बताए। बुधबार पनि अस्पतालमा बिरामीको अत्यधिक भीड रहेको उनको भनाइ छ।
अस्पतालको तथ्यांकअनुसार गत वर्ष २०८२ को कात्तिक महिनामा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत गरी २९ हजार ४२२ जनाले सेवा लिएका थिए। यस वर्ष सोही अवधिमा सेवा लिने बिरामीको सङ्ख्या बढेर ३९ हजार २०० पुगेको छ।
त्यस्तै, गत वर्ष असोजमा अस्पतालबाट २९ हजार २८१ बिरामीले सेवा लिएका थिए। आकस्मिक सेवामा आउने बिरामीको सङ्ख्या पनि बढेको छ। गत वर्ष कात्तिकमा आकस्मिक सेवामार्फत छ हजार २५९ जनाले उपचार गराएकामा यस वर्ष उक्त सङ्ख्या बढेर सात हजार ४९५ पुगेको छ।

प्रवक्ता सापकोटाका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये करिब ६० देखि ७० प्रतिशतले स्वास्थ्य बीमामार्फत सेवा लिने गरेका छन्। ओपिडीमा सबैभन्दा बढी चाप आन्तरिक मेडिसिन र अर्थोपेडिक्स विभागमा रहेको उनले जानकारी दिए।
आन्तरिक मेडिसिन विभागमा दैनिक ३०० देखि ४०० जनासम्म बिरामी आउने गरेका छन्। कुनै-कुनै दिन यो सङ्ख्या बढेर ५०० देखि ६०० सम्म पुग्ने गरेको अस्पतालले जनाएको छ।
निजी अस्पतालको तुलनामा सरकारी अस्पतालमा उपचार खर्च कम हुनु, स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुनु र अस्पतालले प्रदान गर्ने सेवाप्रति बिरामीको विश्वास बढ्दै जानुले पनि बिरामीको आकर्षण बढेको प्रवक्ता सापकोटाको भनाइ छ।








