कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कैलालीको गेटास्थित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै पनि बहाना स्वीकार्य नहुने बताएका छन् । उनले विश्वविद्यालयमा चिकित्सा शिक्षाको अध्ययन–अध्यापन तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सको अगुवाइमा कैलालीको अत्तरियामा आयोजित स्वास्थ्य युवा महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यस क्षेत्रका नागरिकको लामो सङ्घर्ष, चाहना र प्रयासपछि विश्वविद्यालय स्थापना भएकाले यसको शैक्षिक कार्यक्रम सञ्चालनमा ढिलाइ गर्न नहुने बताए ।
सङ्घीय सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौताका कारण विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन नहुने हो कि भन्ने आशङ्का बढेको उल्लेख गर्दै उनले सरकारले त्यसलाई स्पष्ट पार्नुपर्ने धारणा राखे । “यो विश्वविद्यालय सुदूरपश्चिमका जनताको लामो सङ्घर्ष र प्रतीक्षापछि स्थापना भएको हो । गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा आफ्नै घरआँगनमा प्राप्त गर्ने जनचाहनालाई सम्बोधन गर्न आवश्यक छ”, उनले भने ।
मुख्यमन्त्री भट्टले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताए । सुदूरपश्चिमको भौगोलिक अवस्था र पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा देखिएको कठिनाइलाई ध्यानमा राख्दै बैतडीको खोडपे र बुडरमा मिनी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
त्यस्तै, दार्चुलाको गोकुलेश्वर र बाजुराको कोल्टीमा प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको उनले बताए । नसर्ने रोग र मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा चुनौती बढ्दै गएकाले नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुपर्ने उनको भनाइ थियो । स्वास्थ्य युवा महोत्सवले समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जानकारी र सचेतना फैलाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
‘स्वस्थ युवा, स्वस्थ समाज, समृद्ध सुदूरपश्चिम’ भन्ने नारासहित कैलालीको गोदावरीमा पाँचदिने ‘स्वास्थ्य युवा महोत्सव–२०८३’ आयोजना गरिएको हो । मङ्सिर ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष संवाद, स्वास्थ्य परामर्श तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले जानकारी दिए ।

पछिल्लो समय किशोरकिशोरीदेखि वयस्क र ज्येष्ठ नागरिकसम्ममा नसर्ने रोग, मानसिक स्वास्थ्य समस्या तथा अस्वस्थ जीवनशैलीका कारण स्वास्थ्य चुनौती बढ्दै गएकाले समुदायमै सही जानकारी र परामर्श पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए ।
महोत्सवमा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम, कुलत तथा दुर्व्यसन नियन्त्रण, महिला तथा किशोरी स्वास्थ्य, पोषण, खानपान र स्वस्थ जीवनशैलीलगायत विषयमा विशेषज्ञसँग अन्तरक्रिया गरिनेछ । वरिष्ठ मनोचिकित्सक, मनोपरामर्शदाता, क्लिनिकल साइकोलोजिस्ट, जनस्वास्थ्य विशेषज्ञ तथा बाल तथा किशोर मानसिक स्वास्थ्य विशेषज्ञले परामर्श दिने कार्यक्रम रहेको छ ।
त्यसैगरी, किशोरी तथा महिलाको प्रजनन स्वास्थ्य, महिनावारीसम्बन्धी समस्या, हर्मोनको गडबडी, थाइराइड, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसीओएस), गर्भावस्था र रजोनिवृत्तिसम्बन्धी विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, इन्डोक्राइनोलोजिस्ट र मनोपरामर्शदातासँग छलफल गरिने आयोजकले जनाएको छ ।
उमेर समूहअनुसार स्वास्थ्य समस्या पहिचान र समाधानका लागि छुट्टाछुट्टै परामर्शको व्यवस्था गरिएको छ । किशोरकिशोरीलाई शारीरिक विकास, महिनावारी र रक्तअल्पताबारे जानकारी दिइनेछ भने महिलालाई प्रजनन स्वास्थ्य, महिनावारीको गडबडी, थाइराइड, तनाव व्यवस्थापन, गर्भावस्था, हर्मोनसम्बन्धी समस्या तथा रजोनिवृत्तिका विषयमा परामर्श दिइनेछ ।
महोत्सवमा पोषणविद्, मेडिसिन विशेषज्ञ, पेट तथा पाचन रोग विशेषज्ञ र जनस्वास्थ्य विशेषज्ञले सन्तुलित आहार, कुपोषण, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुरोग तथा पाचन प्रणालीसम्बन्धी समस्या र तिनको रोकथामबारे जानकारी दिने अध्यक्ष मल्लले बताए ।
आयोजकका अनुसार महोत्सवमा आँखाको परीक्षण तथा परामर्श, दन्त परीक्षण, पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपिभी–डीएनए तथा भिआइए विधिबाट परीक्षण गर्न नमुना सङ्कलन, योगसम्बन्धी परामर्श तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शको व्यवस्था गरिएको छ ।








