काठमाडौं । एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) नियन्त्रणका लागि कुनै एक क्षेत्रको प्रयासले मात्र नपुग्ने भन्दै सरोकारवालाहरूले मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, औषधि तथा सञ्चार क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।
विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताहको पहिलो दिन आयोजित ‘एएमआर र मिडियाको भूमिका’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले एएमआरलाई साझा चुनौतीका रूपमा व्याख्या गर्दै यसको नियन्त्रणमा सबै क्षेत्र जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन् ।
ग्लोबल एएमआर मिडिया अलायन्स, नेपाल च्याप्टर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपाल, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल र स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा आयोजित कार्यक्रममा एएमआरविरुद्ध जनचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताइएको थियो । एन्टीबायोटिकको जथाभावी प्रयोग रोक्न र नागरिकसम्म सही सूचना पुर्याउन पत्रकारितामार्फत प्रभावकारी सचेतना अभियान सञ्चालन गर्नुपर्ने वक्ताहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठन नेपालकी कार्यवाहक प्रमुख डा. एलिसन गोकाटानोले एएमआरको जोखिम कुनै एक व्यक्ति, समुदाय वा क्षेत्रसम्म सीमित नरहेको बताइन् । यसको असर सबैमा पर्न सक्ने भएकाले नियन्त्रणका लागि सामूहिक प्रयास र जनचेतना आवश्यक रहेको उनको भनाइ थियो ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टीबायोटिक औषधिको समुचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताए । चिकित्सकको सल्लाहबिना एन्टीबायोटिक सेवन गर्ने तथा औषधिको जथाभावी प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित समस्या नभएको बताए । कृषि तथा पशुपालन क्षेत्रमा समेत एन्टीबायोटिक प्रयोग हुने भएकाले यसको उचित व्यवस्थापन र अनावश्यक प्रयोग नियन्त्रण गर्न सबै क्षेत्रले मिलेर काम गर्नुपर्ने उनको धारणा थियो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले एन्टीबायोटिकको मात्रा पूरा नगर्ने र आफूखुसी औषधि किनेर सेवन गर्ने प्रवृत्ति अझै कायम रहेको बताइन् । यस्तो व्यवहार परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले एएमआर नियन्त्रणका लागि नीतिगत समस्या पहिचान, पैरवी र निगरानीमा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताइन् ।
ग्लोबल एएमआर मिडिया अलायन्स, नेपाल च्याप्टरकी अध्यक्ष कल्पना आचार्यले एएमआरलाई सबै क्षेत्रको साझा एजेन्डा बनाउनुपर्नेमा जोड दिइन् । मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, औषधि क्षेत्र र सञ्चारमाध्यमबीच सहकार्य भए मात्रै यसको नियन्त्रण प्रभावकारी हुने उनको भनाइ थियो ।
एन्टीबायोटिकको समुचित प्रयोगबारे आम नागरिकमा सचेतना फैलाउन सञ्चार क्षेत्रले निरन्तर भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन् । नागरिकको व्यवहार परिवर्तन गर्न र एएमआर नियन्त्रणका लागि आवश्यक विषयलाई सार्वजनिक बहसमा ल्याउन पत्रकारिताको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
बुढाथोकीलाई एएमआर मिडिया अवार्ड
कार्यक्रममा एएमआरसम्बन्धी उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यस वर्षको ‘एक्सिलेन्स इन एएमआर रिपोर्टिङ अवार्ड’ उकालो अनलाइनका पत्रकार सागर बुढाथोकीले प्राप्त गरेका छन् । उनले १५ हजार रुपैयाँ नगदसहित अवार्ड पाएका हुन् ।
त्यस्तै, स्पेसल मेन्सन अवार्ड गोरखापत्र दैनिकका सरोज ढुंगेल, नेपालखबरकी प्रज्ञा तिम्सिना, थाहाखबरकी सबिना खनाल, जुनखबर डटकमकी जुनु भट्टराई र अनलाइनखबरकी मनिषा थापाले प्राप्त गरेका छन् । उक्त अवार्ड ग्लोबल एएमआर मिडिया अलायन्स, नेपाल च्याप्टरले प्रदान गरेको हो ।









