भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–४ वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ। सामान्य उपचारका लागि समेत टाढाका स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम भएको हो।
सङ्घीय सरकारको प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने नीतिअनुसार रु चार करोड ८० लाख लागतमा डेढतले भवन निर्माण गरी अस्पताल सञ्चालनमा ल्याइएको हो।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायका अनुसार अस्पतालबाट नियमित रूपमा स्वास्थ्य सेवा प्रवाह भइरहेको छ। विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई उपचारका लागि अन्यत्र जानुपर्ने समस्या कम भएको उनले बताए।
गाउँमै विशेषज्ञ चिकित्सकसहित आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवा सञ्चालन गरिएको उनको भनाइ छ।

“सामान्य उपचारका लागि पनि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल सञ्चालनमा ल्याएका हौँ”, अध्यक्ष राईले भने, “नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ।”
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले अस्पताल सञ्चालनमा आएपछि विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई राहत पुगेको बताइन्। स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न पूर्वाधार निर्माणसँगै जनशक्ति व्यवस्थापनलाई पनि प्राथमिकता दिइएको उनले जानकारी दिइन्।
अस्पतालबाट आकस्मिक तथा बहिरङ्ग (ओपिडी) सेवा, प्रयोगशाला परीक्षण, गर्भवती महिलाका लागि भिडियो एक्सरे, मातृ तथा शिशु स्वास्थ्य सेवा, स्त्रीरोग तथा प्रसूति सेवा, नसर्ने रोगको परीक्षण र बर्थिङ सेवा सञ्चालन भइरहेका छन्। अस्पतालका चिकित्सक कौसलकिशोर अम्बिकादेव यादवका अनुसार गाउँघर क्लिनिकमार्फत पनि स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ।
उनका अनुसार पाँच शय्या क्षमताको अस्पतालबाट दैनिक २५ देखि ३० जनासम्मले सेवा लिँदै आएका छन्। गाउँमै अस्पताल सञ्चालन भएपछि सामान्य उपचारका लागि सदरमुकाम वा अन्य जिल्ला पुग्नुपर्ने बाध्यता घटेको भन्दै स्थानीयवासी खुसी भएका छन्।








