काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. विवेक आचार्यविरुद्ध आर्थिक अनियमितता, खरिद तथा भुक्तानीमा हस्तक्षेप र निजी संस्थामा लगानीसम्बन्धी विषयमा छानबिन माग गर्दै पाँच सरकारी निकायमा उजुरी दर्ता भएको छ।
स्वास्थ्य डायरीलाई प्राप्त उजुरी तथा दर्तासम्बन्धी प्रतिलिपिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा विभिन्न विषयका उजुरी दिइएका छन्।

उजुरीमध्ये एउटामा आचार्यले गत दसैँमा बानेश्वरस्थित हिमालयन जाभामा तीन व्यापारीसँग छुट्टाछुट्टै भेटेर कुल ३३ लाख रुपैयाँ लिएको आरोप लगाइएको छ। अस्पतालमा गुणस्तरहीन भन्दै फिर्ता गरिएका मेडिकल तथा सर्जिकल सामग्री पुनः आपूर्ति गर्ने व्यवस्थासँग उक्त रकम जोडिएको उजुरीकर्ताको आरोप छ। रकम दिने भनिएका व्यापारीको नाम र कारोबार पुष्टि गर्ने ठोस प्रमाण भने सामग्रीमा खुलाइएको छैन।

न्याम्स वीर अस्पतालका पीडित चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका नाममा दिइएको उजुरीमा कर्मचारीको चाडपर्व खर्च रोकिएको तर विवादित आपूर्तिकर्ताको भुक्तानीलाई प्राथमिकता दिइएको उल्लेख छ। करार कर्मचारी नियुक्तिका लागि रकम उठाएको र त्यससम्बन्धी प्रक्रिया अघि बढाउन असहमत कर्मचारीलाई सरुवा गराएको आरोप पनि लगाइएको छ।
अर्को उजुरीमा आचार्यको निजी स्वास्थ्य संस्था तथा कम्पनीहरूमा रहेको भनिएको लगानी र सम्पत्तिको छानबिन माग गरिएको छ। सार्वजनिक अस्पतालको जिम्मेवारी र निजी व्यावसायिक संलग्नताबीच स्वार्थ बाझिएको उजुरीकर्ताको जिकिर छ।
उजुरीमा अस्पतालको फार्मेसीमा आवश्यक औषधिको उपलब्धता, उपकरण सञ्चालन तथा मर्मत र क्यान्सर उपचार सेवा विस्तारका विषय पनि उठाइएका छन्। बिरामीको सेवासँग प्रत्यक्ष जोडिएका यी कामलाई प्राथमिकता नदिएको भन्दै सम्बन्धित निकायसँग छानबिन र कारबाही माग गरिएको छ।







