काठमाडौं, २७ कार्तिक। वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा नेपाल नेत्रज्योति विशेषज्ञ समाज (नेपाल अफ्थाल्मिक सोसाइटी एनओएस) का पूर्वअध्यक्ष प्रा. डा. ओमकृष्ण मल्लको निधन भएको छ
डा. ओ.के. मल्लका नामले परिचित उहाँले सन् १९९४ देखि १९९७ सम्म अफ्थामिक सोसाइटीको अध्यक्षका रूपमा नेतृत्व गर्नुभएको थियो। नेत्रचिकित्सा सेवाको विकास, व्यावसायिक सहकार्य र नयाँ पुस्ताका विशेषज्ञ तयार गर्न उहाँको महत्त्वपूर्ण भूमिका रहेको सोसाइटीले जनाएको छ।

अध्यापन र मार्गदर्शनमार्फत उहाँले धेरै नेत्ररोग विशेषज्ञको व्यावसायिक यात्रामा योगदान पुर्याउनुभएको थियो। सोसाइटीले उहाँलाई प्रेरणादायी शिक्षक र सम्मानित अगुवाका रूपमा सम्झँदै उहाँको मार्गदर्शन तथा हौसलाले विभिन्न पुस्ताका चिकित्सकलाई अघि बढ्न सहयोग गरेको उल्लेख गरेको छ।
उहाँ सोसाइटी तथा अन्य व्यावसायिक संस्थाका गतिविधिमा नियमित सहभागी हुनुहुन्थ्यो। पेसाप्रतिको लगाव, सहकर्मीहरूसँगको आत्मीय सम्बन्ध र निरन्तर सक्रियता उहाँका विशेषता रहेको सोसाइटीले शोकवक्तव्य निकालेर दुःख व्यक्त गरेको छ । मल्लको निधनले आँखा स्वास्थ्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको सोसाइटीले जनाएको छ ।

नेत्रचिकित्सा क्षेत्रमा पुर्याएको योगदानका लागि उहाँ एपीएओको ‘डिस्टिङ्ग्विस्ड सर्भिस अवार्ड’ र एनओएसको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित हुनुभएको थियो।
सोसाइटीले उहाँको निधनलाई नेपालको नेत्रचिकित्सा क्षेत्रका लागि अपूरणीय क्षति भन्दै शोकसन्तप्त परिवार, सहकर्मी, विद्यार्थी तथा शुभचिन्तकप्रति समवेदना व्यक्त गरेको छ। सोसाइटीको तीनदिन २८ औं सम्मेलन राजधानीमा सुरु भएकै दिन डा. मल्ल ब्रम्हलिन हुनुभएको हो ।
८३ वर्षीय डा.मल्लका धर्मपत्नी र दुईजना छोरा रहेका छन् ।







