काठमाडौं । नेपाल औषधि व्यवसायी संघको आसन्न निर्वाचन तथा १५औँ राष्ट्रिय अधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । उच्च अदालत पाटनले मतदाता नामावली, निर्वाचन कार्यतालिका र त्यससँग सम्बन्धित सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको हो ।
संघको १५औँ राष्ट्रिय अधिवेशन आगामी मंसिर ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा गर्ने कार्यतालिका तय गरिएको थियो । तर, अधिवेशन सुरु हुन तीन दिनअघि नै अदालतले निर्वाचनसम्बन्धी प्रक्रिया अघि नबढाउन आदेश दिएपछि अधिवेशनको अन्योल बढेको छ ।
लक्ष्मीप्रसाद तिम्सिनाले जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल औषधि व्यवसायी संघको केन्द्रीय कार्यालय, संघको निर्वाचन समितिको केन्द्रीय सचिवालय, प्रमुख निर्वाचन अधिकृत शिवराज धिताल र केन्द्रीय सहायक कार्यालय प्रमुख गणेश पुडासैनीलाई विपक्षी बनाएर उत्प्रेषण मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामा न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले २०८३ मंसिर २ गते निवेदकका तर्फबाट अधिवक्ता प्रविण सुवेदीको बहस सुनेपछि विपक्षीका नाममा कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशमा २०८३ कात्तिक १७ र १८ गते प्रकाशित मतदाता नामावली, निर्वाचन कार्यतालिका तथा त्यससँग सम्बन्धित सम्पूर्ण प्रक्रिया हाललाई यथास्थितिमा राख्न भनिएको छ । दुवै पक्षबीच छलफल गरेर अन्तरिम आदेशबारे निष्कर्षमा पुग्नुपर्ने देखिएकाले त्यसका लागि मंसिर ८ गते पेसी तोकिएको अदालतको आदेशमा उल्लेख छ ।
त्यस्तै, निवेदनमा माग गरिएअनुसार आदेश जारी हुनु नपर्ने आधार, कारण र प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि विपक्षीहरूलाई आदेश दिइएको छ । विपक्षी जिल्ला प्रशासन कार्यालयका हकमा उच्च सरकारी वकिल कार्यालय, पाटनमार्फत र अन्य विपक्षीका हकमा आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।
अब मंसिर ८ गते हुने दुवै पक्षबीचको छलफलपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्नेछ ।









