सिजर (दौरा) हुँदा सधैँ होस हराउने वा पूरै शरीर काँप्ने हुँदैन हात वा खुट्टा अनियन्त्रित रूपमा चल्नु वा शरीरको कुनै भाग झमझमाउनु पनि सिजरको लक्षण हुन सक्ने अल्का अस्पतालका न्युरोसर्जन डा. हृदयेश प्रताप मल्लले बताएका छन्।
डा. मल्लका अनुसार मस्तिष्कमा असामान्य विद्युतीय गतिविधि हुँदा सिजर हुन्छ। मस्तिष्कमा ट्युमर हुनु, टाउकोमा चोट लागेर रगत जम्नु वा मस्तिष्कको जन्मजात समस्या यसका सम्भावित कारण हुन्। कतिपय बिरामीमा भने कारण स्पष्ट नहुन सक्छ। एकपटक सिजर हुँदैमा मिर्गी भएको पुष्टि हुँदैन।
बिरामीको अवस्था हेरेर सिजरको कारण पत्ता लगाउन ईईजी, एमआरआई वा सीटी स्क्यानजस्ता परीक्षण गर्न सकिने डा. मल्लले बताए। उनका अनुसार कारण पहिचान गरी समयमै उपचार गर्दा धेरै बिरामीमा सिजर नियन्त्रण गर्न सकिन्छ। उनले चिकित्सकले दिएको औषधि नियमित सेवन गर्न र तोकिएको समयमा फलोअपमा जान सुझाए। औषधिको मात्रा चिकित्सककै सल्लाहमा घटाउन वा बढाउनुपर्ने उनको भनाइ छ।

सिजर पर्दा के गर्ने?
सिजर परेको बेला बिरामीलाई जुत्ता सुँघाउने वा धामीझाँक्रीकहाँ लैजाने चलनबारे डा. मल्लले भने, “त्यो सबै अन्धविश्वास मात्रै हो।” उनले त्यस्तो अवस्थामा बिरामीलाई चोट लाग्न नदिई सुरक्षित राख्न सुझाए।

सिजर पर्दा वरिपरिका चोट लाग्न सक्ने वस्तु हटाउनुपर्छ। बिरामी भुइँमा पल्टिएका छन् भने बिस्तारै कोल्टे पार्नुपर्छ र दौरा कति बेर चल्यो भनेर समय हेर्नुपर्छ। बिरामीलाई जबरजस्ती समातेर रोक्नु वा मुखमा केही हाल्नु हुँदैन।
दौरा पाँच मिनेटभन्दा बढी चलेमा, लगत्तै अर्को दौरा आएमा, बिरामीलाई सास फेर्न गाह्रो भएमा वा पहिलोपटक दौरा परेको भए तत्काल आपत्कालीन चिकित्सा सहायता लिनुपर्ने डा. मल्लले बताउनुभयो।







