काठमाडौं । विश्वभर झन्डै प्रत्येक सातमध्ये एक व्यक्ति कुनै न कुनै मानसिक विकारसँग बाँचिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सन् २०२३ मा करिब एक अर्ब २० करोड मानिस मानसिक विकारबाट प्रभावित थिए। तीमध्ये एन्जाइटी अर्थात् चिन्तासम्बन्धी विकार र डिप्रेसन सबैभन्दा सामान्य समस्या थिए।
अक्टोबर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्यबारे सचेतना, उपचारमा पहुँच र प्रभावित व्यक्तिप्रतिको सामाजिक व्यवहारबारे बहस गर्ने अवसर दिएको छ। मानसिक स्वास्थ्य समस्याको ठूलो विश्वव्यापी भारका बीच प्रभावकारी उपचार उपलब्ध भए पनि धेरै मानिस आवश्यक सेवाबाट वञ्चित छन्। मानसिक रोगसँग जोडिएको लाञ्छना र भेदभाव पनि चुनौतीका रूपमा कायम छन्।
मानसिक स्वास्थ्य समस्याले व्यक्तिको भावनात्मक अवस्थासँगै पारिवारिक सम्बन्ध, पढाइ, रोजगारी र दैनिक जीवनमा असर पार्न सक्छ। एन्जाइटी र डिप्रेसनको अवस्थालाई छुट्टाछुट्टै हेर्दा यी समस्याको व्यापकता अझ स्पष्ट हुन्छ।
एन्जाइटीबाट ४७ करोड प्रभावित, बालबालिका र किशोरकिशोरी पनि जोखिममा
डब्लूएचओका अनुसार सन् २०२३ मा विश्वभर ४७ करोड मानिस एन्जाइटीसम्बन्धी विकारसँग बाँचिरहेका थिए। तीमध्ये १४ करोड ६० लाख बालबालिका तथा किशोरकिशोरी थिए। एन्जाइटी विश्वमा सबैभन्दा धेरै मानिसलाई प्रभावित गर्ने मानसिक विकार हो।
कुनै चुनौती वा अनिश्चित परिस्थितिमा चिन्ता लाग्नु सामान्य अनुभव हो। तर एन्जाइटीसम्बन्धी विकारमा डर र चिन्ता अत्यधिक, लामो समयसम्म रहने तथा नियन्त्रण गर्न कठिन हुन सक्छ। यसले व्यक्तिको सामाजिक सम्बन्ध, विद्यालय वा कार्यस्थलको जिम्मेवारी र दैनिक गतिविधिमा अवरोध पुर्याउन सक्छ।
एन्जाइटी विभिन्न रूपमा देखिन्छ। निरन्तर अत्यधिक चिन्ता हुने अवस्था, अचानक तीव्र डर उत्पन्न हुने प्यानिक डिसअर्डर र सामाजिक परिस्थितिमा अत्यधिक डर लाग्ने सोसियल एन्जाइटी यसका केही प्रकार हुन्। त्यसैले सबै व्यक्तिमा यसको अनुभव र लक्षण समान हुँदैनन्।
प्रभावकारी उपचार उपलब्ध भए पनि उपचार पाउनेको अनुपात न्यून छ। डब्लूएचओका अनुसार एन्जाइटीसम्बन्धी विकार भएका करिब चारमध्ये एक व्यक्तिले मात्र त्यसको उपचार पाउँछन्। यसले समस्या पहिचानसँगै उपचारसम्म पुग्ने वातावरणको आवश्यकता देखाउँछ।
डिप्रेसनसँग बाँचिरहेका ३२ करोड २० लाख मानिस
सन् २०२३ मा विश्वभर ३२ करोड २० लाख मानिस डिप्रेसनसँग बाँचिरहेका थिए। तीमध्ये चार करोड ३० लाख बालबालिका तथा किशोरकिशोरी थिए। यो समस्या कुनै एक उमेर समूहमा मात्र सीमित छैन।

डिप्रेसन सामान्य दुःख वा केही समयका लागि हुने मनस्थितिको परिवर्तनभन्दा फरक अवस्था हो। दिनको अधिकांश समय, लगभग हरेक दिन, कम्तीमा दुई सातासम्म उदासी रहनु वा पहिले रुचि लाग्ने गतिविधिमा रुचि र आनन्द हराउनु यसको प्रमुख संकेत हुन सक्छ।
यससँगै निद्रामा गडबडी, भोक वा तौलमा परिवर्तन, अत्यधिक थकान, ध्यान केन्द्रित गर्न कठिनाइ, आफूलाई कमजोर वा मूल्यहीन ठान्ने भावना र भविष्यप्रति निराशा देखिन सक्छन्। कतिपय व्यक्तिमा मृत्यु वा आत्महत्यासम्बन्धी विचार पनि आउन सक्छन्। यस्ता लक्षणको स्वास्थ्यकर्मीबाट मूल्याङ्कन गराउन आवश्यक हुन्छ।
डब्लूएचओका अनुसार विश्वका करिब ५.२ प्रतिशत वयस्क डिप्रेसनबाट प्रभावित छन्। पुरुषको तुलनामा महिलामा यसको प्रभाव बढी देखिन्छ। डिप्रेसनले सम्बन्ध, पारिवारिक जीवन, अध्ययन र काममा असर पार्न सक्छ भने जीवनका तनावपूर्ण घटना र कठिन परिस्थितिसँग पनि यसको सम्बन्ध हुन सक्छ।
एन्जाइटी र डिप्रेसनका उल्लिखित संख्या सन् २०२३ का अनुमान हुन्। एउटै व्यक्तिमा दुवै समस्या हुन सक्ने भएकाले यी संख्यालाई जोडेर कुल प्रभावित व्यक्तिको संख्या निकाल्न मिल्दैन।
उपचार सम्भव छ, पहुँच विस्तार आवश्यक
एन्जाइटी र डिप्रेसन दुवैका प्रभावकारी उपचार उपलब्ध छन्। मनोवैज्ञानिक उपचारसँगै व्यक्तिको उमेर, अवस्था र समस्याको गम्भीरताअनुसार औषधि आवश्यक पर्न सक्छ। उपचारको निर्णय स्वास्थ्यकर्मीको मूल्याङ्कनका आधारमा गरिन्छ।
लक्षण पहिचान गर्नु, समस्या खुलेर भन्न सक्नु र समयमै स्वास्थ्य सेवा खोज्नु उपचारतर्फका महत्त्वपूर्ण कदम हुन्। विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा सचेतनासँगै सहज, पहुँचयोग्य सेवा र प्रभावित व्यक्तिप्रति सहयोगी सामाजिक वातावरणको आवश्यकता पनि अगाडि आएको छ।
‘मनका कुरा दबाएर नराखौँ, परिवारमा संवाद गरौँ’: डा. नम्रता प्रधान
स्वास्थ्य डायरीसँग कुरा गर्दै ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालकी मानसिक रोग विशेषज्ञ डा. नम्रता प्रधानले समाजले के भन्ला भन्ने डरले आफ्ना समस्या लुकाउने र पीडा एक्लै सहेर बस्ने प्रवृत्तिले मानसिक स्वास्थ्य समस्या थप जटिल बनाउन सक्ने बताइन्।

“मनका कुरा दबाएर राख्ने, अरूलाई सेयर नगर्ने र पीडा आफैँ सहेर बस्ने प्रवृत्तिले मानसिक स्वास्थ्य समस्या थप बढाउन सक्छ। समाजले के भन्ला भनेर नखुल्ने अवस्था हटाउनुपर्छ। मानसिक रोगका विषयमा परिवार, आफन्त र इष्टमित्रबीच कुरा हुन सक्नुपर्छ,” उनले भनिन्।
डा. प्रधानले प्रविधि, प्रतिस्पर्धा र सामाजिक सञ्जालमा निर्माण हुने प्रतिष्ठाको दबाबबारे पनि ध्यान दिनुपर्ने बताइन्। विशेषगरी नयाँ पुस्तामा सामाजिक सञ्जालको अत्यधिक प्रयोग र वास्तविक जीवनका चुनौतीसँग जुध्न कठिन हुने अवस्थाले एन्जाइटी तथा डिप्रेसनजस्ता समस्या थप जटिल बनाउन सक्ने उनको भनाइ छ।
“यी विषयमा सबैले ध्यान दिएर अगाडि बढ्नुपर्छ। सबै क्षेत्रका मानिसले मानसिक रोगको विषयलाई व्यापक बहसमा ल्याउनुपर्छ,” उनले भनिन्।







