काठमाडौं । क्यान्सर तथा मिर्गौलाका बिरामीले नियमित प्रयोग गर्नुपर्ने अत्यावश्यक औषधि बजारमा अभाव हुन थालेको गुनासो बढेपछि औषधि व्यवस्था विभागले ती औषधि उपलब्ध गराउने कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ ।
विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिन समूहका सिस्प्लाटिन र कार्बोप्लाटिन तथा मिर्गौलाका बिरामीको डायलाइसिसमा प्रयोग हुने पेरिटोनियल डायलाइसिस फ्लुइड र कन्टिन्युअस रिनल रिप्लेसमेन्ट थेरापी (सीआरआरटी) का औषधि उपलब्ध गराउने कम्पनीको विवरण सार्वजनिक गरेको हो ।
विभागका महानिर्देशक भरत भट्टराईले बिरामीले आवश्यक औषधि सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सम्बन्धित कम्पनी र सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरिएको बताए । अत्यावश्यक औषधिको आपूर्ति र बजारमा उपलब्धताको अवस्थाबारे विभागले निगरानी गरिरहेको पनि उनले जानकारी दिए ।
औषधि अभावको समस्या देखिएका बेला बिरामी तथा अस्पताललाई औषधि उपलब्ध गराउने आधिकारिक स्रोतसम्म पुग्न सहज होस् भनेर यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।
विभागले सोमबार जारी गरेको सूचनाअनुसार क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिनका लागि पाँच कम्पनीका सम्पर्क व्यक्ति तोकिएका छन् । ताज नेपाल प्रालिका ख्वाजा तारिक राना (९८५१००३४९६), डीकेएम फार्मास्युटिकल्स प्रालिका शरद मानन्धर (९८५११०७७६४) तथा यति फार्माकेम डिस्ट्रीब्युटर्स र यति केम डिस्ट्रीब्युटर्स प्रालिका प्रदीप लामिछाने (९८०१२१६५५४) लाई सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

त्यस्तै, सिजल फार्मा प्रालिका अञ्जन पुडासैनी (९८०२०१७८५८) र डोमोटेक्स फार्माका योगेश कर्माचार्य (९८२४८९७१२८) मार्फत पनि उक्त औषधि प्राप्त गर्न सकिनेछ ।
मिर्गौलाका बिरामीको उपचारमा प्रयोग हुने पेरिटोनियल डायलाइसिस फ्लुइडका लागि केयर मेड इन्टरनेसनलका मधु चित्रकार (९८५१०९५१८३) र सीआरआरटीका लागि पिकन पीटीई लिमिटेड, ललितपुरका निरज जोशी (९८५१०३२७७८) लाई सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।
विभागले सम्बन्धित बिरामी तथा सरोकारवालालाई चिकित्सकको पुर्जीका आधारमा उल्लेखित सम्पर्क व्यक्तिसँग सम्पर्क गरी औषधिको उपलब्धताबारे जानकारी लिन अनुरोध गरेको छ । औषधि आयातकर्तालाई पनि मौज्दात, प्राप्ति र वितरणको अद्यावधिक अभिलेख व्यवस्थित राख्न तथा बजारमा नियमित आपूर्ति सुनिश्चित गर्न आग्रह गरिएको छ ।
जीवनरक्षक औषधिको आपूर्तिमा अवरोध हुँदा क्यान्सर तथा मिर्गौलाका बिरामीको उपचार प्रभावित हुन सक्ने भएकाले उपलब्धता सुनिश्चित गर्न सम्बन्धित आयातकर्ता र वितरकलाई जिम्मेवार बनाउनुपर्ने आवश्यकता विभागले औँल्याएको छ ।








