काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्रको सुधार तथा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने विषयमा सरकारले सरोकारवाला निकायसँग छलफल अघि बढाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजाे शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताबारे समीक्षा गरिएको हो ।
बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा तथा प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

छलफलमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग सरकारले गरेका सम्झौता तथा चिकित्सा शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको थियो ।
त्यसैगरी, वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र कलेज व्यवस्थापनबीच देखिएको विवाद समाधानका लागि समिति गठन गरी पठाउने विषयमा पनि छलफल भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयले समेत बैठकमा स्थान पाएको थियो ।
कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थामा अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

बैठकमा शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा उठेका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने उनको भनाइ थियो ।
चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन चिकित्सा शिक्षा आयोगलगायत सम्बन्धित संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्री पोखरेलले बताए ।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. अग्रवालले सम्झौता कार्यान्वयनसँगै मेडिकल शिक्षालाई सुदृढ, गुणस्तरीय र प्रभावकारी बनाउन अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको बताए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. खत्रीले चिकित्सा शिक्षाको गुणस्तर सुधार तथा नतिजा समयमै सार्वजनिक गर्नेलगायतका विषयमा आयोगले आवश्यक काम गरिरहेको जानकारी दिए ।
बैठकले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत पहल र विभिन्न निकायबीचको समन्वयलाई तीव्रता दिने विषयमा जोड दिएको छ ।







