काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा अध्ययनरत प्रथम वर्षका आवासीय चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् । कलेजको कार्यशैली र अभ्यासविरुद्ध दुई महिनादेखि आन्दोलन गर्दा पनि माग सुनुवाइ नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सम्बोधन गर्दै बुझाइएको राजीनामापत्रमा चिकित्सकहरूले असुरक्षित, अपमानजनक र विभेदपूर्ण वातावरणमा तालिमलाई निरन्तरता दिन नसक्ने उल्लेख गरेका छन् ।
चिकित्सकहरूका अनुसार उनीहरूले कलेजका कार्यशैली र अभ्यासविरुद्ध गत साउन ३१ गतेदेखि शान्तिपूर्ण धर्ना तथा आन्दोलन सुरु गरेका थिए । आन्दोलनका क्रममा पछिल्लो दुई महिनामा शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिन कार्यालय र कलेज प्रशासनसँग पटक–पटक छलफल भएको थियो ।

छलफलका क्रममा आफूहरूमाथि लगाइएका विभिन्न आरोप र भोग्नुपरेका समस्यासँग सम्बन्धित प्रमाणसमेत प्रस्तुत गरेको चिकित्सकहरूको दाबी छ । तर, सरोकारवाला निकायले समस्या समाधान गर्न नसकेको र समाधान हुने आश्वासन मात्रै दिएको उनीहरूले आरोप लगाएका छन् ।
राजीनामापत्रमा चिकित्सकहरूले प्रत्येक आरोपका सम्बन्धमा आवश्यक प्रमाण प्रस्तुत गर्दा पनि सम्बन्धित निकायले समस्या समाधान नगरेको उल्लेख गरेका छन् । पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएपछि सामूहिक राजीनामा दिन बाध्य भएको उनीहरूको भनाइ छ ।








