

काठमाडौं- विश्व ब्रेन ट्युमर दिवसको अवसरमा बी एन्ड बी अस्पताल अन्तर्गतको न्युरो सेन्टरले विशेष स्वास्थ्य पीक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
हरेक वर्ष जुन ८ तारिखका दिन मनाइने दिवसको अवसरमा सेन्टरमा सोमबार बिहान १०:३० बजेदेखि बेलुका ४ बजेसम्म निःशुल्क ओपीडी तथा विशेषज्ञ परामर्श सेवा प्रदान गरिने अस्पतालले जनाएको छ।
कार्यक्रमअन्तर्गत ब्रेन एमआरआई सेवामा १५ प्रतिशत छुट, निःशुल्क परामर्श तथा निःशुल्क फलो-अप सेवाको सुविधा उपलब्ध गराइनेछ। ब्रेन ट्युमरबारे जनचेतना फैलाउने, समयमै परीक्षण र उपचारमा पहुँच बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालका स्नायुरोग विशेषज्ञ डा. शिखर श्रेष्ठले जानकारी दिए ।
प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचार गर्न सके ब्रेन ट्युमरबाट हुने जटिलता कम गर्न तथा उपचारको प्रभावकारिता बढाउन सहयोग पुग्ने चिकित्सकहरूले बताएका छन् । ब्रेन ट्युमरबारे जनचेतना अभिवृद्धि गर्दै समयमै परीक्षण र उपचारमा पहुँच बढाउने उद्देश्यले हरेक वर्ष विश्व ब्रेन ट्युमर दिवस मनाइन्छ।


