
काठमाडौं, २९ बैशाख । बीएण्डबी अस्पताल तथा बीएण्डबी मेडिकल इन्स्टिच्युटमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ ।
अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पताल र इन्स्टिच्युटमा कार्यरत एवं अध्ययनरत नर्सका साथै अस्पतालका अधिकारीहरु सहभागी भएका थिए । स्वास्थ्य सेवा प्रवाहको मेरुदण्डका रुपमा क्रियाशिल नर्सहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले अस्पतालले सांस्कृतिक कार्यक्रमका साथै सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा अस्पतालका नर्सहरुले विभिन्न नृत्यकला प्रदर्शन गरे भने अस्पताल प्रशासनले अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान गरेका प्राध्यापक, चिकित्सक, नर्स, सिएमई, अनमी लगायतलाई सम्मान पत्र प्रदान गरेको छ ।

बीएण्डबी अस्पतालमा हाल ३ सय ७५ जना नर्स कार्यरत छन् भने इन्स्टिच्युटमा १ सय ८५ जना विद्यार्थी अध्ययनरत छन् । इन्स्टिच्युटले सन् २००९ देखि सिटिइभिटीको पिसिएल नर्सिङ्ग कार्यक्रम सञ्चालन गरेको थियो भने सन् २०१८ यता पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ब्याचलर अफ साइन्स इन नर्सिङ्ग(बिएसएन) अध्यापन गराउँदै आएको छ ।

अस्पतालकी नर्सिङ्ग निर्देशक एवं मेडिकल इन्स्टिच्युटकी प्राचार्य प्राध्यापक डा. रोजी श्रेष्ठले नर्सिङ्ग सेवाको माग उच्च रहेको भन्दै अब प्रत्येक घरमा एक नर्सको आवश्यक्ता रहेको बताउनुभयो । नर्सिङ्ग पेशा स्वास्थ्य सेवाको मेरुदण्ड र मुटु भएको भन्दै श्रेष्ठले नर्सहरुलाई उचित पहिचान र सम्मानको आवश्यक्ता रहेकोमा जोड दिनुभयो । आफुलाई नर्स हुन पाएकोमा र यस पेशामा लागेकोमा सदैव गौरव महशुष हुने उहाँको भनाइ छ ।








