
काठमाडौं, २१ बैशाख । डा. गोविन्द केसीको अनसनमा ‘हर्ताकर्ता’ भएर चिनिएका डा. जीवन क्षेत्री नेपाल चिकित्सक संघको निर्वाचनमा धेरै पछाडी परेका छन् । प्याथोलोजिष्ट रहेका डा. क्षेत्रीले आफुलाई चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता दावी गर्ने गरेपनि डाक्टरहरुले भने खासै नपत्याएको मत परिणामले देखिएको छ ।
नेपाल चिकित्सक संघको जारी मतगणनामा ६ जना कार्यसमिति सदस्यका लागि हुने मतदानमा उनीपनि उम्मेदवार रहेका थिए । तर, उनले ३ हजार ८ सय १८ मत गन्दा जम्मा ८ सय ७९ मत ल्याएर १४ औं नम्बरमा परेका छन् । डा. क्षेत्री टिम रिफर्म नाम दिइएको तेश्रो प्यानलबाट उम्मेदवार बनेका थिए । चिकित्सा क्षेत्रका अलावा हरेक क्षेत्रका बारेमा सामाजिक सञ्जालमा टिप्पणी गर्ने क्षेत्रीको यहि मतरुझान कायम रहेमा उनी निर्वाचित हुने सम्भावना छैन । उक्त प्यानलबाट एकजना सदस्यका उम्मेदवारलेमात्र हालसम्म ६ जना भित्र मत ल्याउन सफल भएका छन् । सो प्यानलका डा. शेषराज घिमिरेले १ हजार ३ सय ७७ मत ल्याएर चौथो बरियतामा टिक्न सफल भएका छन् ।
६ जना सदस्यका लागि भएको निर्वाचनको मतपरिणाममा हालसम्म मंगल समुहका डा. अमित झा १ हजार ७ सय ६५ मतका साथ अग्रस्थानमा रहेका छन् । त्यस्तै, बद्रि समुहका डा. राकेश शाह १ हजार ५ सय ७४ मतका साथ दोश्रो स्थानमा छन् । बद्रि समुहकै डा. सुस्मीत काफ्ले १ हजार ४ सय ५८ मतका साथ तेश्रो, टिम रिफर्मका डा. शेषराज घिमिरे १ हजार ४ सय ३७ मतका साथ चौथो र बद्रि समुहका हिमलाल भण्डारी १ हजार ४ सय १७ मतका साथ पाँचौ नम्बरमा परेका छन् । मंगल समुहका डा. अरुण उप्रेती १ हजार ४ सय १६ मतका साथ छैठौं नम्बरमा रहेका छन् । सातौं नम्बरमा रहेकी डा. पल्पसा श्रेष्ठ १ हजार ३ सय ३५ मतका साथ ६ जनाभित्र पर्न संघर्षरत छिन् ।


