
काठमाडौँ– सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्य बीमातर्फ रकम हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले तीन जनालाई दोषी ठहर गर्दै जनही दुई वर्ष कैद सजाय सुनाएको छ। साथै अदालतले उनीहरूबाट २४ लाख रुपैयाँभन्दा बढी विगो तथा जरिवाना असुल गर्न आदेश दिएको छ।
अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार फैसला सुनाएको हो।
फैसला अनुसार प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) तृप्ती शाही, र कुमारी बैंक का एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगर विरुद्ध रकम हिनामिनाको अभियोग सिद्ध भएको ठहर भएको छ।
अदालतले ठहर गरेको कुल विगो रकम २४ लाख २ हजार ९० रुपैयाँ रहेको छ। प्रतिवादीहरूलाई दामासाहीको आधारमा विभाजन गर्दा, प्रत्येकले फरक–फरक रकम भुक्तान गर्नुपर्ने छ।
सुवेदी र शाहीले जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ ९१ पैसा जरिवाना र सोही बराबरको विगो रकम असुल गर्नु पर्ने
मगरले ८ लाख ६९६ रुपैयाँ ६६ पैसा जरिवाना र सोही बराबरको विगो रकम असुल गर्नु पर्ने
अदालतले प्रतिवादीहरूको कसुर भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३९१० अन्तर्गत परेको ठहर गरेको छ। अदालतले अपराधको प्रकृति, प्रतिवादीको सामाजिक र आर्थिक हैसियतलाई ध्यानमा राख्दै जनही दुई वर्ष कैदको सजाय सुनाएको जनाएको छ।
अपराध पीडित राहत कोषमा जम्मा हुने क्षतिपूर्ति शुल्कसम्बन्धी भने आरोपदाबी नभएकाले अदालतले यसबारे केही उल्लेख नगरेको छ।


