
डडेल्धुरा – स्वास्थ्य कार्यक्रमका प्रमुख सूचकांकहरूको मूल्यांकनमा स्वास्थ्य कार्यालय डडेलधुराले सुदूरपश्चिम प्रदेशभरि उत्कृष्ट नतिजा हासिल गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका नौ वटै स्वास्थ्य कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरूको मूल्यांकन गर्दा डडेल्धुराले ८५ दशमलव २० अङ्क प्राप्त गर्दै पहिलो स्थानमा उक्लिएको हो। उत्कृष्ट प्रदर्शनका आधारमा स्वास्थ्य निर्देशनालय दिपायल–डोटीले डडेलधुरा स्वास्थ्य कार्यालयलाई सम्मान गरेको छ।
आइतबार आयोजित एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदलाई प्रथम स्थानको प्रमाणपत्र प्रदान गरे।
उल्लेखनीय उपलब्धि हासिल गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारकर्मी, जनप्रतिनिधि तथा विभिन्न साझेदार संस्थाहरूको निरन्तर सहकार्य र श्रमको भूमिका महत्वपूर्ण रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ‘सबैको निरन्तर समर्पण र सहकार्यकै कारण डडेलधुरा प्रदेशमै अग्रस्थानमा उभिन सफल भएको हो,’ कार्यालय प्रमुख साउदले भने।
यस वर्षको मूल्यांकनमा स्वास्थ्य कार्यालय डोटी दोस्रो र स्वास्थ्य कार्यालय कैलाली तेस्रो स्थानमा परेका छन्।


